चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहूर्तसँगै छायांकन सुरु

काठमाडौं । चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुक्रबार काठमाडौंको कोटेश्वर महादेव मन्दिरमा विशेष पुजा गर्दै शुभ मुहूर्त सम्पन्न गरिएको छ ।

चलचित्रको मुहूर्त कार्यक्रममा वरिष्ठ कलाकार सरोज खनालले क्ल्याप दिँदा युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए । साथै, बाल गायक तथा कलाकार अशोक दर्जी र अनुभवी अभिनेता सन्तोष पन्तले मुहूर्त शट दिएका थिए । चलचित्रको छायांकन आजदेखि नै सुरु गरिएको छ ।

चलचित्र ‘मन बिनाको धन’ टंक बुढाथोकीकै लोकप्रिय गीतको नामबाट राखिएको हो, जसले दर्शक तथा श्रोतामाझ विशेष लोकप्रियता हासिल गरेको थियो ।

सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रमा बाल गायक अशोक दर्जी मुख्य भूमिकामा देखिनेछन् । साथै, चलचित्रमा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रको कथा निर्देशक बुढाथोकीले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन् ।

चलचित्रका निर्माता विष्णु माया मैनाली, सह-निर्माता जीपी संग्रौला, लक्ष्मी गिरि, विवेक नेपाल, विजया पाण्डे रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी मिनु शर्मा (सपना) ले सम्हाल्ने भएकी छन् ।

यस चलचित्रका लागि टंक बुढाथोकी स्वयं संगीत भर्नेछन् । छायांकन सौरभ लामाले गर्नेछन् भने कोरियोग्राफी कविराज गहतराजको रहनेछ । सम्पादन मित्र डी. गुरुङले गर्नेछन् भने मुख्य सहायक निर्देशन नवराज शर्माले गर्नेछन् ।

यसैगरी, चलचित्रमा अरुण रेग्मी र अर्जुन पोखरेल प्रोडक्सन म्यानेजरका रूपमा रहनेछन् । ‘मन बिनाको धन’ गीतका कारण चर्चामा आएका बाल गायक अशोक दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् ।

यस चलचित्रको वितरणको जिम्मा बैंकटेश इन्टरटेन्टमेन्टले लिएको छ।