‘एक्टर’का निर्माताले अनुचित लाभ लिन खोजेको भन्दै ‘एक्टरः टेक वान’का निर्माता अदालतमा

काठमाडौं । चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’ बीचको विवादमा नयाँ मोड आएको छ । ‘एक्टर : टेक वान’का निर्माताले चलचित्र ‘एक्टर’का निर्माता विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
‘एक्टर : टेक वान’का निर्माताले दायर गरेको फिरादपत्रमा चलचित्र रिलिज गर्न दिने भन्दै अनुचित प्रभावमा पारेर ‘एक्टर’का निर्माताले १५ लाख रुपैयाँको चेक लिएको आरोप लगाइएको छ । उक्त चेक एक महिनामा सटही गरिने शर्तमा दिइएको दाबी गरिएको छ । अब सो रकम फिर्ता पाउन र चेक बदर गराउन अदालतमा मुद्दा दायर गरिएको छ ।
मुद्दामा ‘एक्टर’ फिल्मको निर्माता कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिलाई विपक्षी बनाइएको छ ।
फिरादपत्रमा भनिएको छ, ‘अदालतबाट चलचित्र प्रदर्शनमा रोक लगाउने आदेश विपरीत हामीसँग ‘एक्टर : टेक वान’ चलचित्र प्रदर्शन गर्न दिने भनी, प्रतिलिपि अधिकार हनन भयो भन्दै झुक्याइ, जालसाझी र अनुचित दबाबमा पारेर क्षतिपूर्ति बापत १५ लाख रुपैयाँको चेक लिएको छ । त्यसैले, सो रकम फिर्ता हुनुपर्छ ।’
एक्टर : टेक वन’का निर्माताले सम्झौता लिखत बदर गरि अनुचित समृद्धिको चेक बदर गरि पाऊँ भन्दै विहिबार अदालतमा मुद्दा हालेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।
यसअघि, ‘एक्टर’ फिल्मका निर्माताले ‘एक्टर : टेक वान’ फिल्मले प्रतिलिपि अधिकार उल्लंघन गरेको दाबी गर्दै माघ १५ गते अदालतमा मुद्दा हालेका थिए । सोही आधारमा अदालतले माघ १५ गते नै ‘एक्टर : टेक वान’ को प्रदर्शन रोक्न अन्तरिम आदेश दिएको थियो । माघ १७ गते दुबै पक्षबीच छलफल भएपछि ‘एक्टर’का निर्माताले मुद्दा फिर्ता लिएका थिए ।
तर, पछिल्लो मुद्दा दायर भएसँगै दुबै पक्षबीच भएको सहमति भंग भएको स्पष्ट भएको छ । अदालतले चैत ६ गते दुबै पक्षलाई उपस्थित हुन आदेश दिएको छ । अबको सुनुवाइपछि मात्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’ बीचको विवाद कसरी टुंगिन्छ भन्ने स्पष्ट हुनेछ ।
यो पनि पढ्नुहोस्
चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’का निर्माताबीच सहमति, मुद्दा फिर्ता लिइने
डेब्यू चलचित्रको प्रदर्शन रोकिने ‘डर’ले भावुक बनिन् दिव्या, कहाँ आइपुगेँ जस्तो लाग्यो