युएईमा ‘दुखी आत्मा’लाई प्रदर्शनका लागि रोक, बहराइनमा समेत रोकियो

काठमाडौं । दीपेन्द्र लामाको निर्देशन तथा लेखकमा निर्माण भएको चलचित्र ‘दुखी आत्मा’ लाई युएईमा प्रदर्शनका लागि रोक लगाएको छ । युएई मिडिया काउन्सिलको मिडिया कन्टेन्ट सम्बन्धी नियमअनुसार यो चलचित्र योग्य नठहरिएपछि सेन्सर पास नगरेको हो ।
सेन्सर पास नभएपछि नेपाली सिनेमाका लागि मध्यपूर्वको प्रमुख चलचित्र बजार युएईका दर्शकहरूले ‘दुखी आत्मा’ हेर्न नपाउने भएका छन् । यो सिनेमाको वितरणको जिम्मा साथीभाइ इन्टरटेनमेन्टले लिएको थियो ।
युएईको सेन्सर बोर्डबाट पास हुन नसकेपछि त्यहाँ रिलिज रोकिएको निर्देशक लामाले जानकारी दिए । उनले भने, ‘युएईमा फिल्म सेन्सर प्रक्रियामा दुई पटक लगिएको थियो । पहिलो पटक सेन्सर फेल भएपछि केही दृश्यहरू काँटछाँट गर्न लगाइयो । तर, दोस्रो पटक सम्पादन गरेर पुन: सेन्सर बोर्डमा पठाउँदा पनि पास हुन सकेन ।’
युएईमा सेन्सर पास नभएपछि अर्को खाडी मुलुक बहराइनका दर्शकले समेत यो चलचित्र हेर्न नपाउने भएका छन् । बहराइनले पनि युएईकै मिडिया कन्टेन्ट मापदण्डअनुसार सिनेमा प्रदर्शनलाई नियमन गर्दै आएको हुँदा त्यहाँ पनि प्रदर्शन रोकिएको हो । तर, कतारले भने कुनै सम्पादन बिना ‘दुखी आत्मालाई सेन्सर पास गरेको निर्देशक लामाले जनाएका छन् ।
कतारमा शुक्रबारदेखि नै यो चलचित्र प्रदर्शन भइसकेको छ । शनिबारदेखि अस्ट्रेलियामा प्रदर्शन भएको छ भने जापानमा रिलिज भइसकेको छ । दक्षिण कोरियामा फेब्रुअरी २३ देखि रिलिज हुने तय छ । अमेरिका र युरोपका लागि वितरण अधिकार भने अझै बिक्री भइसकेको छैन । नेपालमा भने यो चलचित्र प्रदर्शन भइरहेको छ ।
प्रणय दिवसको अवसर पारेर शुक्रबारदेखि नेपालमा रिलिज भएको चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । हलमा सिनेमा हेर्न पुगेका अधिकांश दर्शकहरूले यसको कथावस्तु, कलाकारहरूको अभिनय र प्रस्तुति प्रशंसा गरेका छन् । नयाँ शैलीको कथामा बनेको भन्दै दर्शकहरूले ‘दुखी आत्मा’ हेर्न सबैलाई आग्रह गरेका छन् ।
‘दुखी आत्मा’ ले यौन दुर्बलता भएका पात्रको कथा प्रस्तुत गर्छ । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतका कलाकारहरूको अभिनय छ ।
यो चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने कार्यकारी निर्माता सुदिप ढकाल रहेका छन् ।