बेलायतमा ‘अञ्जिला’को भव्य प्रिमियर

काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को बेलायतको एल्डरसटस्थित एम्पायर हलमा भव्य प्रिमियर सम्पन्न भएको छ ।

प्रिमियर समारोहमा बेलायतमा बसोबास गर्ने नेपाली चलचित्रकर्मीहरू, व्यवसायीहरू तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै, बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

नेपालबाट चलचित्रकी कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स विशेष रूपमा बेलायत पुगेका थिए ।

नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन्। तर, उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो, जसमा उनले चलचित्र टिमलाई शुभकामना दिँदै दर्शकहरूलाई धन्यवाद व्यक्त गरिन् । साथै, उनको छोटो परिचयात्मक भिडियो पनि प्रिमियरमा प्रदर्शन गरिएको थियो ।

राजदूत घिमिरेले चलचित्र टिमलाई बधाई दिंदै ‘अञ्जिला’ले नेपाली खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले भने, “यो चलचित्रले खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ। नेपालका खेलाडीहरूको संघर्ष दर्शाउने यस्तो बायोपिकले नेपाली खेलकुदको इतिहासमा नयाँ अध्याय थप्नेछ ।”

चलचित्रका निर्देशक मिलन चाम्सले ‘अञ्जिला’ नेपाली खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको संघर्ष उजागर गर्न निर्माण गरिएको बताए। उनले भने, “नेपालमै पहिलो पटक फुटबल खेलाडीको जीवनीमा आधारित चलचित्र निर्माण भएको छ, जसले नेपाली खेल क्षेत्रमा नयाँ आशा र उत्साह थप्नेछ ।” उनका अनुसार खेलकुद क्षेत्रमा अझै धेरै प्रेरणादायी कथाहरू छन्, जसलाई चलचित्रका माध्यमबाट विश्वसामु पुर्‍याउन सकिन्छ ।

चलचित्र हेरेका दर्शकहरूले ‘अञ्जिला’लाई अत्यन्त प्रेरणादायी बताउँदै नेपालमा खेलाडी बन्ने संघर्ष चलचित्रमा सशक्त रूपमा प्रस्तुत गरिएको प्रतिक्रिया दिए । कतिपय दर्शकहरूले चलचित्र हेरिरहँदा भावुक बनेको अनुभव पनि व्यक्त गरे ।

निर्माता प्रेम कुमार श्रेष्ठका अनुसार, चलचित्रले हङकङ प्रिमियरमा पनि उच्च प्रशंसा पाइसकेको छ। उनले भने, “चार वर्ष लगाएर निर्माण गरिएको यो चलचित्रमा वास्तविक खेलाडीलाई अभिनय गराउनु चुनौतीपूर्ण थियो। तर, अहिले दर्शकहरूबाट पाइरहेको सकारात्मक प्रतिक्रिया उत्साहजनक छ ।”

‘अञ्जिला’ नेपालमा रिलिज हुनु अघि अमेरिका, अस्ट्रेलिया र जापानमा पनि प्रदर्शन गरिनेछ । निर्माता श्रेष्ठका अनुसार, प्रिमियरबाट संकलित सम्पूर्ण रकम एञ्जिलाको घर निर्माणका लागि प्रयोग गरिनेछ । उनले भने, “देशका लागि एञ्जिलाले अझ बढी खेल्न सकुन् भनेर प्रेरणा दिनका लागि उनको घर निर्माण अभियान सुरु गरिएको हो ।” एञ्जिलाले भविष्यमा उक्त घरलाई फुटबल एकेडेमीका रूपमा विकास गर्ने योजना बनाएकी छन् ।

नेपालमा ‘अञ्जिला’ यही फागुन २९ गते रिलिज हुँदैछ । हालै सार्वजनिक गरिएको टिजरमा एञ्जिलाको संघर्षको कथा झल्काइएको छ । चलचित्रमा एञ्जिलाले आफैं मुख्य भूमिका निभाएकी छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । चलचित्रको छायाङ्कन इलाम, झापा र काठमाडौंमा गरिएको हो ।

यस ऐतिहासिक बायोपिकको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित ‘अञ्जिला’का निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता रहेका छन्।

‘अञ्जिला’ नेपाली खेलकुद क्षेत्रमा निर्माण भएको पहिलो बायोपिक भएकाले यसको ऐतिहासिक महत्त्व छ । निर्देशक चाम्सले दर्शकहरूले यो चलचित्रलाई साथ दिएमा भविष्यमा अन्य खेलाडीहरूको जीवनमा आधारित चलचित्रहरू निर्माण गर्ने सम्भावना बलियो हुने बताए ।