शो नदिएको भन्दै सलोन आक्रोशित, निर्देशक भन्छन्- ‘हलवालाको मोजा धोइदिन परे तयार छु, तर शोज दिनुस्’

काठमाडौं । चलचित्र ‘रंगी’का निर्माता समेत रहेका कलाकार सलोन बस्नेतले आफ्नो सिनेमालाई हलहरूले उचित प्राथमिकता नदिएको भन्दै कडा आक्रोशित व्यक्त गरेका छन् । विशेष गरी, क्यूएफएक्स चेनले ‘रंगी’लाई न्यून शो प्रदान गरेको भन्दै काठमाडौंका केही हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका उनले आक्रोश पोखेका हुन् ।

चलचित्र ‘रंगी’ले प्रदर्शनका दिन देशभर ६० शो पनि पाएको थिएन । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘रंगी’लाई शुक्रबार ३६ बढी पर्दामा जम्मा १६ शो दिएको थियो । एकै दिन प्रदर्शनमा आएको अर्को चलचित्र ‘दु:खी आत्मा’को शो भने २ सय बढी थियो ।

सलोनले चलचित्र विकास बोर्डमा गएर नेपाली तथा विदेशी फिल्महरूको बक्स अफिस रिपोर्ट जाँच गर्न चुनौतीसमेत दिएका छन् । उनले भने, ‘बोर्डमा गएर रिपोर्ट हेरौँ, यदि मेरो सिनेमाले राम्रो व्यापार नगरेको हो भने हटाउनुहोस् । तर, व्यापार राम्रो गर्दै गर्दा पनि किन शो दिइँदैन? मैले कसैको के बिगारेको छु?’

नेपाली सिनेमालाई हलहरूले साथ नदिए नयाँ निर्माता हतोत्साहित हुने उनको भनाइ छ । ‘नेपाली चलचित्र नेपालमै व्यापार गर्न पाउनुपर्छ । तर, हलहरूले मलाई ठाउँ नै दिँदैनन्,’ उनले थपे, ‘यदि युट्युबमै रिलिज गर्नु पर्ने हो भने हल किन चाहियो?’

सञ्चारकर्मीहरूसँग कुरा गर्दै गर्दा सलोन निकै भावुक समेत बने । उनले आफू ५ वर्षको उमेरदेखि चलचित्र क्षेत्रमा लागिपरेको उल्लेख गर्दै भने, ‘हामी नेपालमै बसेर राम्रो चलचित्र बनाउने प्रयास गरिरहेका छौँ । जीवन यही क्षेत्रमा समर्पण गरेका छौँ । म कुनै धनाढ्य भएर सिनेमा बनाएको होइन ।’

सलोनले विशेषगरी ललितपुरको लाबिम मलमा आफ्ना फिल्मलाई कुनै शो नदिएको गुनासो गरे । उनले दर्शकले ‘रंगी’लाई राम्रो प्रतिक्रिया दिएको भए पनि हलवालाले पर्याप्त शो उपलब्ध नगराएको दाबी गरे । उनले प्रश्न गरे, ‘राम्रो चलचित्र बनाए पनि ‘मार्केट’ नपाउने हो भने हामीले के गर्ने? हामीले अरू केही जानेका छैनौँ । हलवालाहरूको मोजा धोएर शो पाइन्छ भने त्यो गर्न पनि तयार छु, तर शो दिनुपर्‍यो ।’

निर्देशक सुरेश न्यौपाने पनि शो नपाएको विषयमा असन्तुष्ट देखिए । उनले भने, ‘हामीले शोका लागि भिख माग्नुपरेको छ । हाम्रो मिहिनेत र लगानी चलचित्र निर्माणमा गएको छ, तर हलवालाहरूले हामीलाई स्थान नै दिन चाहँदैनन् ।’

निर्देशक न्यौपानेले अगाडि भने, ‘हलवालाहरूको मोजा धुन परे पनि म धुन तयार छु । तर, मेरो चलचित्रलाई शो देऊ न ह्यार । हामीले शोजका लागि भीख माग्न मात्र बाँकी थियो । हामीले ३ महिनादेखि फागुन २ गते चलचित्र रिलिज हुँदै छ भनेर प्रचार गरेका थियौँ । तर, उहाँहरूको साइटमा ३ दिन अगाडि मात्र आएर हाम्रो पोस्टर राखिएको थियो । अब त अति भयो । यति राम्रो चलचित्र बनाउँदा बनाउँदा पनि हामीले मार्केट पाउँदैनौँ भने हामीले के गर्ने त ?’

राम्रो चलचित्र दिँदा पनि हामीलाई शोज दिँदैन भने हामीले कहाँ गएर देखाउने हो त ? म टाउको मालिस गर्न पर्छ भने पनि गर्न तयार छु । तर, शोज त दिन पर्‍यो नि । चलचित्र नै नहेरी सलोन र सुरेशको सिनेमा रहेछ, २ शोज दिऔँ भनेर टेबलमा बसेर दिन मिल्छ । हामीले उहाँहरूलाई रिझाउन के गर्नुपर्ने हो ?,’ सुरेशले भने ।

सलोनका पिता तथा वरिष्ठ निर्माता शोभित बस्नेतले समेत वितरकले आफ्नो स्वार्थका लागि चलचित्र जुधाएको तर शोज मिलाउन नसकेको आरोप लगाए । नेपाली चलचित्र उद्योगमा यस प्रकारका समस्या निरन्तर देखिँदै आएको भन्दै उनले हल तथा वितरकहरूको नीति परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘रंगी’ बाबु-छोरीको भावनात्मक सम्बन्धमा आधारित चलचित्र हो, जसमा सलोन बाबुको भूमिकामा छन् भने छोरीको भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् । चलचित्र हेरेका दर्शकले कथावस्तु तथा अभिनयलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।