बालेनको गीतमा देखिएको क्रेज ‘लाज शरणम्’को व्यापारमा देखिएला ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को टिम यतिबेला आक्रामक प्रचारमा छ । गीतदेखि कार्यक्रम, महोत्सवदेखि टेलिसिरयलसम्ममा ‘लाज शरणम्’का कलाकारहरू गइरहेका छन् ।

चलचित्रको प्रचारकै लागि ‘लाज शरणम्’का कलाकार महोत्सवमा सहभागी हुन पोखरा पुगे । जहाँबाट उनले चलचित्र हेर्न स्थानीय दर्शकलाई आग्रह गरे ।

सिताराम कट्टेल ‘धुर्मुस’ हरेक टेलिसिरयलमा विशेष अतिथि कलाकारको भूमिका निर्वाह गर्दै दर्शकमा आफ्नो चलचित्रबारे प्रचार गरिरहेका छन् ।

यसबाहेक ‘लाज शरणम्’ टिमले प्रोमोसनल गीत दुईवटा ल्याइसकेको छ । यी मध्ये एक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत थियो । जुन गीत बालेनले मेयर भएपछि पहिलोपटक सार्वजनिक गरेका थिए ।

यो चलचित्रको प्रचारका लागि बालेनले ‘लाज शरणम्’का लागि गीत गाउनु नै सबैभन्दा ठूलो उपलब्धी थियो । यो गीतले मिडियामा ठूलो ठाउँ पायो । बालेनको गीत सबैभन्दा चाँडै युट्युब ट्रेन्डिङमा शीर्ष स्थानमा र दश लाख भ्युज बटुल्ने चलचित्रको पहिलो गीत बन्यो ।

बालेनको यो गीतले ‘लाज शरणम्’लाई ती आम दर्शकसम्म पुर्यायो, जसलाई चलचित्र लाज शरणम्बारे थाहा थिएन । यो गीतले ‘लाज शरणम्’लाई ठूलो समूहमाझ पुर्यायो । जसले गर्दा नयाँ हाइपमा पुर्याउने काम गर्यो ।

बालेनको गीतमा देखिएको क्रेज चलचित्रमा पनि देखियो भने ‘लाज शरण्म’ले ऐतिहासिक सफलता पाउनेछ । अर्को ऐतिहासिक चलचित्र बन्नेछ । तर, गीतमा देखिएको क्रेज चलचित्रमा देखिन्छ कि देखिँदैन, त्यो हेर्न बाँकी छ ।

तर, ‘लाज शरणम्’ टिम सिनेमाको हाइप क्रिएट गर्न बालेनको गीत राख्ने रणनीतिमा सफल भयो । धुर्मुसको क्यारेक्टरले आम दर्शकमा चलचित्रको प्रचारलाई पुर्याइरहेका बेला बालेनको गीत थपिँदा ‘लाज शरणम्’लाई दोहोरो फाइदा पुग्यो ।

चलचित्रको रिलिज डेट नजिकिँदै गर्दा अबको प्रचार यो टिमले कसरी गर्नेछ, ‘लाज शरणम्’लाई थप कति हाइप दिने त्यसमा निर्धारण गर्नेछ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ । ‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । बालेनको गीतले यो चलचित्रलाई थप प्रतिक्षित बनाएको छ ।