‘कल्की’को दोस्रो भाग छाडेर निर्देशक नाग अश्विन नयाँ सिनेमाको तयारीमा जुटे, आलिया मुख्य हिरोइन

काठमाडौं । नाग अश्विनको निर्देशनमा बनेको साइन्स-फिक्सन चलचित्र ‘कल्कि २८९८ एडी’ ले बक्स अफिसमा सुपर हिट साबित भयो ।

दक्षिण भारतीय स्टार प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनजस्ता स्टारहरू अभिनित यो सिनेमाले विश्वव्यापी रूपमा १०४२.२५ करोड रुपैयाँ संकलन गर्न सफल भएको थियो ।

‘कल्की २८९८ एडी’ को दोस्रो भागको छायांकन सन् २०२६ मा मात्र सुरु हुने बताइएको छ । यो चलचित्रको सफलतापछि निर्देशक नाग अश्विन अहिले आफ्नो नयाँ सिनेमाको तयारीमा जुटेका छन् ।

भारतीय मिडिया पिंकभिलाका अनुसार यस ‘अनटाइटल’ चलचित्रमा अभिनेत्री आलिया भट्टलाई लिन उनको टिमले प्रारम्भिक कुराकानी गरिसकेको बताइएको छ ।

हाल अभिनेत्री आलिया चर्चित बलिउड निर्देशक सञ्जय लीला भन्सालीको चलचित्र ‘लभ एन्ड वार’ को सुटिङमा व्यस्त छिन्, जहाँ उनी रणवीर कपुर र विक्की कौशलसँग काम गरिरहेकी छन् । यो चलचित्रको छायांकन सन् २०२५ को अक्टोबरसम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।

आलिया अहिले ‘लभ एन्ड वार’ पछि नयाँ स्क्रिप्टको खोजीमा छिन्, जसमा नाग अश्विनले उनलाई आफ्नो नयाँ चलचित्रको प्रस्ताव राखेका छन् । यदि सबै कुरा सकारात्मक रूपमा अघि बढेमा आलिया नाग अश्विनको आगामी चलचित्रमा देखिनेछिन् ।

चलचित्रको कथा र विधा गोप्य राखिएको भए पनि स्रोतका अनुसार दुवैबीच प्रारम्भिक छलफल भइसकेको छ । आलियालाई पनि स्क्रिप्ट मन परेको र वार्ता अन्तिम चरणमा पुगेको बताइएको छ ।

तर, अभिनेत्री आलिया नोभेम्बरपछि मात्र नयाँ चलचित्रको सुटिङ सुरु गर्न सक्षम हुने भएकाले सोहीअनुसार सुटिङ मिति तय गरिनेछ । नाग अश्विनले पनि आफ्नो नयाँ चलचित्र नोभेम्बरबाट सुरु गर्ने योजना बनाएका छन् ।

यसबीच, आलिया निर्देशक अभिषेक पाठकको ‘हाउसवाइफ’ नामक रोमान्टिक चलचित्र साइन गर्ने तयारीमा छिन् । यसबारे अझै छलफल भइरहेको पिंकभिलाले उल्लेख गरेको छ ।

वर्कफ्रन्टको कुरा गर्दा, आलियासँग हाल थुप्रै चलचित्रहरू छन् । ‘लभ एन्ड वार’ बाहेक, उनी वाईआरएफ स्पाई युनिभर्सको ‘अल्फा’ मा एक्सन अवतारमा देखिनेछिन् । साथै, ‘हाउसवाइफ’ र म्याडकको हरर कमेडी युनिभर्सको ‘चामुण्डा’ मा पनि उनको अभिनय रहनेछ ।