अभिनेत्री जल शाह कमब्याक गर्ने तयारीमा, तर कहिले ?

काठमाडौं । झण्डै दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रबाट टाढा रहेकी चर्चित अभिनेत्री जल शाहले पुनः अभिनयमा फर्किने भएकी छन् ।
कुनै समय नेपाली सिनेमामा आफ्नो बलियो उपस्थिति जनाएकी अभिनेत्री शाह झण्डै दुई दशकदेखि अमेरिकामा परिवारसहित बस्दै आएकी छन् । सन् २००६ मा प्रदर्शन भएको चलचित्र ‘क्रोध’ पछि जल शाह कुनै फिल्ममा देखिएकी छैनन् ।
पछिल्लो समय पुराना कलाकारहरूको पुनरागमन भइरहेको सन्दर्भका क्रममा जल शाह पुनरागमन गर्नेछिन् भन्ने चासो धेरैको रहेको थियो । अमेरिकामा बसोबास गरेपछि चलचित्र क्षेत्रबाट टाढिएको भए पनि अब पुनः अभिनयमा फर्कने योजना गरिरहेको उनले बताइन् ।
छोरी कलशले खडा गरेको ‘शिक्षा फाउन्डेसन’बाट काभ्रेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्न केही दिनअघि नेपाल आएकी उनले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा २ वर्षपछि आफू चलचित्र अभिनयमा फर्किने सोचमा रहेको बताएकी हुन् ।
‘‘कलशले ग्राजुयट गरेपछि म सिनेमामा पुनः सक्रिय हुनेछु,’’ उनले भनिन्, ‘‘म कुनै पनि काम हतारमा गर्न चाहन्न । अझै पनि अभिनय गर्ने क्षमतामा कमी आएको छैन, त्यसैले सही समय आएपछि पर्दामा फर्कन्छु ।’’
उनकी छोरी कलश पनि सामाजिक कार्यमा सक्रिय हुँदै, भविष्यमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने योजना बनाइरहेकी छन् ।
पत्रकारहरूले जललाई उनकी छोरी कलशको फिल्म डेब्युबारे सोधेका थिए । जवाफमा उनले भनिन्, ‘अबको २ वर्षमा म फिल्ममा फेरि देखिने छु । अहिलेसम्मको समय परिवारसँग बिताउने कुरालाई प्राथमिकतामा राखेकी थिएँ । छोरी कलशको हेरचाहमा समर्पित भएको थिएँ । अब उनी ठूली भैसकेकी छिन् । यो पूरै छोरीको निर्णयमा निर्भर छ । यदि उनी फिल्म क्षेत्रमा आउन चाहिन् भने हाम्रो पूर्ण सहयोग रहनेछ । मैले नेपाली फिल्मबाट धेरै माया पाएँ, कलशले पनि यही माया पाउनेमा आशावादी छु ।’
हाल अमेरिकामा ११ कक्षामा अध्ययनरत कलशले प्राथमिकता शिक्षामा रहेको बताइन् । उनले भनिन्, ‘‘अहिले मेरो मुख्य फोकस पढाईमा छ । साथै, ‘शिक्षा फाउन्डेसन’ मार्फत मानिसहरुलाई सहयोग गर्ने चाहना छ । तर, भविष्यमा राम्रो अफर आएमा फिल्म पनि गर्न सक्छु । मेरो सपना भने इन्टरनेशनल लयर वा कर्पोरेट लयर बन्ने हो ।’’
अभिनेत्री जल शाहले ‘धरती’, ‘नाता रगतको’, ‘तिमी बिना’, ‘सिन्दूर’, ‘जलजल’, ‘सुकुम्बासी’, ‘रातो टीका निधारमा’ लगाएत दर्जनौं सिनेमामा अभिनय गरेर नेपाली दर्शकमाझ गहिरो छाप छोडेकी थिइन् ।
जल शाहको कमब्याक घोषणासँगै उनका फ्यानहरू उत्साहित भएका छन् । अब उनले कुन सिनेमामाबाट पुनरागमन गर्नेछिन् भन्ने चासो बढेको छ ।