अंकितले ‘ताण्डवम्’मा गरेको क्यारेक्टरको रियल लाइफमा यस्तो संयोग ?

काठमाडौं । सिनेमा ‘ताण्डवम्’ सबैलाई मनपर्ने अंकित खड्काले बताएका छन् । उनले सिनेमा ‘ताण्डवम्’को कथावस्तु र क्यारेक्टर मन परेर नै आफूले काम गर्न राजी भएको बताए ।
आगामी शुक्रबार अर्थात् फागुन ९ गते महाशिवरात्रीको छेको पारेर सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आउँदै छ । डार्क थिममा तयार पारिएको जुनिम गहतराज निर्देशित सिनेमाले एक नवविवाहित जोडीको कथा उठाएको छ ।
जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावलाई देखाइएको छ । यो सिनेमालाई पारिवारिक एक्सन थ्रीलर फिल्म बताइएको छ ।
अंकितको यो सिनेमामा क्यारेक्टरको नाम ‘घैटे’ छ । जसले आमाको माया पाएको हुँदैन । “उसमा आमाप्रतिको सोच फरक छ । आमाको माया नपाएको मान्छे कस्तो हुन्छ ? , उसको व्यवहार कस्तो हुन्छ ? उसले कस्ता कुराहरु बोकेर हिड्छ ?” उनले भने, “उसलाई चाँही आमाजस्तो देखिनेहरुसँग किन समस्या छ ? आमाको महत्वमा पनि सिनेमाको कथा बगेको छ ।”
अंकितले सिनेमाको यो क्यारेक्टर निर्वाह गर्दा आफूलाई निकै गाह्रो समेत भएको अनुभव सुनाए । यो सिनेमाको सुटिङकै बेला नै आमाको निधन भएकाले पनि आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा भिज्न निकै संघर्ष गर्नु परेको उनको अनुभव छ ।