जिन्दगीका फरकफरक भूमिकाको व्याख्या गर्दै आयो ‘भूठान’को मोसन पोस्टर

काठमाडौं । जिन्दगीका फरकफरक रुपको सम्झना र व्याख्या गर्दै चलचित्र ‘भूठान’को मोसन पोस्टर सार्वजनिक भएको छ । मोसन पोस्टरले कसरी एउटै मान्छे समय र उमेरअनुसार फरकफरक भूमिका निभाउन बाध्य हुन्छ भन्ने प्रष्ट पारेको छ ।
कहिले छोरो, कहिले बाउ, कहिले धनी, कहिले गरिब, कहिले ताली, कहिले गाली, कहिले भरी, कहिले खाली, कहिले सोझो त कहिले जालीको भूमिका जिन्दगीमा एउटै व्यक्तिले निभाइरहेको यथार्थलाई मोसन पोस्टरमा समावेश गरिएको छ ।
यसपटक भने आफैँले निभाएको भूमिकाबाट आफैँ चकित भएको पात्रले आमालाई म के फेरि जन्मिन्छु भन्दै प्रश्न गरेको छ ।
हरेक मान्छेले भोग्ने यो कथा भनेका छन्, हरिवंश आचार्यले । उनी यो चलचित्रका मुख्य कलाकार हुन् । मोसन पोस्टरमा हरिवंशको क्यारेक्टर लुक्स छ । उनैले सिनेमाको कथाको केही अंश भन्ने हरफ बोलेका छन्, जुन निकै भावुक र मार्मिक छ । यसले हरिवंश कस्तो क्यारेक्टरमा यो चलचित्रमा छन् भन्ने पनि संकेत गरेको छ ।
विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा हरिवंशसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द-लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल र टम क्रेनले मुख्य भूमिका निर्वाह गरेका छन् । यसमा हलिउडका प्रसिद्ध अभिनेता ब्रुस डर्नले विशेष भूमिका रहेको छ ।
ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको चलचित्रका प्रमुख निर्माता राजेन्द्र ठकुराठी, अमिताव जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा हुन् । यस सिनेमाको सह-निर्माताहरूमा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली रहेका छन् ।
चलचित्र ‘भूठान’ भूटानदेखि भारत, नेपाल हुँदै अमेरिका पुगेका भूटानी समुदायको संघर्ष, देशप्रेम र आफ्ना जरा खोज्ने यात्राको भावपूर्ण कथा प्रस्तुत गर्दछ। चलचित्रको सम्पूर्ण छायांकन केही महिना अघि अमेरिकामा सम्पन्न भएको हो ।
चलचित्रका प्राविधिक टोलीमा छायांकन सुसन प्रजापतिको, सम्पादन अन्जय खड्काको, ध्वनि डिकेश खड्गी शाहीको, कास्टिङ्ग सुर्य शाहीको र पब्लिसिटी डिजाइन उज्जवल श्रेष्ठको रहेको छ ।
निर्माताहरूका अनुसार ‘भूठान’ हरिवंश आचार्यको जीवनको सबैभन्दा उत्कृष्ट चलचित्र बन्नेछ । यो चलचित्रलाई बलिउड र हलिउडकै वितरकको सहकार्यमा विश्वभर एकसाथ प्रदर्शन गर्न प्रयास भइरहेको छ । नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले यस चलचित्रको वितरण गर्ने भएको छ ।
निर्देशक विनोद पौडेलले यसअघि सन् २०१९ मा बुलबुल निर्देशन गरेर नेपाललाई ९२औं अस्कर अवार्डको मनोनयनसम्म पुर्याएका थिए । नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका पौडेलको दोस्रो चलचित्र हो ।