‘रंगी’को ‘उडिदेउ’ गीतमा छोरीका लागि गरेको संघर्ष

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शन भइरहेको चलचित्र ‘रंगी’को नयाँ गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । अन्जान रानाभाटको स्वर र संगीत रहेको उक्त गीतमा अञ्जान र सौगात सापकोटाको शब्द समावेश छ भने सम्रिक बादेले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय देख्न सकिन्छ । स्याड भर्सनको यस गीतमा सलोन बस्नेतले छोरी आयुषीका लागि गरेको संघर्षलाई चित्रण गरिएको छ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘रंगी’ चलचित्रका निर्देशक सुरेश न्यौपाने हुन् । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको यो चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, तथा विशाल पहारीको अभिनय रहेको छ ।

चलचित्रको लेखन सुमन गजमेरले गरेका छन् भने छायांकन सौरभ लामाले गरेका हुन् । यस चलचित्रमा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत रहेको छ भने आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीले स्वर दिएका छन् । चलचित्रका गीतका शब्दहरू दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीले लेखेका छन् ।

चलचित्रको रंग सम्पादन (कलर) राजेन्द्र मोक्तानले गरेका छन् भने कविराज गहतराज र शिशिर खातीले कोरियोग्राफी गरेका छन्।

चलचित्र ‘रंगी’लाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गरिरहेको छ ।