‘फेरि रेशम फिलिलि’को ट्रेलरमा अमेरिका जानका लागि गर्ने संघर्ष र हैरानी

काठमाडौं । महाशिवरात्रीकोका दिन पारेर फागुन १४ गते प्रदर्शन हुने चलचित्र ‘फेरि रेशम फिलिलि’को ट्रेलर सार्वजनिक भएको छ । आज एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

विदेश मोह देखाइएको चलचित्रको ट्रेलरमा अमेरिका जान अहिलेका युवा कति लालायित छन्, के–केसम्म गर्न तयार हुन्छ भन्ने देख्न सकिन्छ । जहाँ डीभी (डाइभर्सिटी भिसा) परेपछि परिवार र समाजले गर्ने व्यवाहार र हेर्ने दृष्टिकोण ट्रेलरमा छ ।

चलचित्रका अधिकांश कलाकार अटाएको ट्रेलरमा सिनेमाका मुख्यपात्र रेशम अर्थात् विनय श्रेष्ठ अमेरिका जान जहाजतिर दौडिरहेको दृश्यसँगै ट्रेलर सुरु हुन्छ र महादेवको चरित्र प्रस्तुत गर्दै समापन हुन्छ । मुख्य पात्रले अमेरिका जानका लागि गर्ने संघर्ष र हैरानीलाई झल्काइएको छ ।

कमेडी ट्रिटमेन्टमा सिनेमाको कथा भनेको ट्रेलरले प्रष्ट पारेको छ । अमेरिका मोह, आर्थिक जोहो, अवरोधलगायत ट्रेलरमा देख्न सकिन्छ ।

डीभी परेर अमेरिका जाने सपना देखेको रेशमको अमेरिका जाने कुरालाई नेपाली समाजले हेर्ने दृष्टिकोण, विवाह र अवरोधको कथा रहेको बुझन सकिन्छ ।

ट्रेलर हेर्दा डीभी परेका व्यक्तिलाई कसरी हेर्छ, विवाहजस्तो सामाजिक परिघटनासँग कसरी जोडिन्छ र पात्रका लागि अमेरिका जान कुन-कुन अवरोध आउँछन् भन्ने कथाले सिनेमालाई रोचक बनाएको देखिन्छ ।

‘फेरि रेशम फिलिलि’मा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छिन् ।