‘२६ करोड’मा प्रदीप अनुबन्धित, पलको पनि चर्चा

काठमाडौं । चलचित्र ‘२६ करोड’मा अभिनेता प्रदीप खड्का अनुबन्धित भएका छन् । महंगो पारिश्रमिक लिएर उनी यो चलचित्रमा अनुबन्धित भएका हुन् ।

यो चलचित्रलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् । चलचित्र लेखकको रूपमा स्थापित विकासको यो डेब्यु निर्देशन हुनेछ ।

लेखक सुवेदीले यसअघि दुई चलचित्र ‘प्रकाश’ र ‘पूजार सार्की’ लेखेका थिए । उनकै लेखन रहेको अर्को सिनेमा ‘महाभोज’ हाल छायांकनमा रहेको छ ।

चलचित्र ‘२६ करोड’ यसअघि रोहित अधिकारीको लगानीमा दिनेश राउतले निर्देशन गर्ने तयारी गरेको थियो । पछि दिनेश र रोहितको कुरा नमिलेर अलग भएसँगै यो चलचित्रको लागि निर्माता र निर्देशक फेरिएका हुन् ।

तर, केहि दिन अगाडी ‘२६ करोड’ रोहित अधिकारिले आफ्नो व्यानरबाट सुभाष भुषालको ब्यानर किङडम नेटवर्कमा हस्तान्तरण गरेका थिए ।

‘२६ करोड’मा प्रदीप फाइनल भए पनि अन्य कलाकारबारे निर्माणपक्षले केही खुलाएको छैन । अभिनेता पल शाहसँग पनि कुरा भइरहेको बताइएको छ ।

तर, अभिनेता पल चलचित्र ‘२६ करोड’का लागि फाइनल नभएको आर्टखबरलाई जानकारी प्रप्त भएको छ । किङडम नेटवर्क ब्यानरबाट निर्माण हुने अर्को ‘अनटाइटल’ सिनेमाका लागि उनी फाइनल भएको बुझिएको छ ।

पल फाइनल भएको अनटाइटल चलचित्रलाई पनि सुवेदीले निर्देशन गर्दैछन् । जसको औपचारीक घोषणा केही समय पछि गरिने बताइएको छ ।

प्रदीप र पलले यस अघि निर्देशक दिनेश राउतले निर्देशन गरेको ‘पूजार सार्की’ मा एक साथ देखिएका थिए ।

‘२६ करोड’लाई  रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ ।