जब दयाहाङलाई चारजनाले पुलबाट फालिदिए…

काठमाडौं । सिनेमा हलको पर्दामा देखिने एक्सन र डरलाग्दा सिन खिच्न कति कठिन हुन्छ ? ती सिन कसरी खिचिन्छ ? यो प्राविधिक पक्ष हो ।
पर्दापछाडि प्राविधिक र कलाकारले गर्ने मेहनत हो, जुन दर्शकले देख्न पाउँदैनन् । तर, त्यस्ता दृश्यका लागि कलाकार र प्राविधिकले कठोर मेहनत गरेका हुन्छन् । ज्यान नै जोखिममा राखेर यस्ता सिन खिचिएको हुन्छ । यस्तै एउटा सिन, जुन दयाहाङ राईले दिएका थिए । उनले ज्यान नै जोखिममा राखेर उक्त सिन दिएका थिए ।
टेलिसिरयल ‘दलन’मा थुप्रै कलाकार थिए । दयाहाङको काम करिबकरिब सकिसकेको थियो । काटेर मारेर पुलदेखि खोलामा फ्याक्ने एउटा सिन मात्रै बाँकी थियो ।
उक्त सिनका लागि निर्देशकले टुचिङ लिएर आउने बताए । तर, आर्मीले यो के हो, किन ? भनेर दुःख दिने सम्भावना उच्च थियो । किनकी त्यो समय माओवादी द्वन्द्वको थियो । पुल र खोलाको डिस्टेन्स १५ फिट जति उचाइ थियो ।
दयाहाङले फालहान्ने आँट गरे । निर्देशक नवीन सुब्बा थिए । उनले एक दिन तयारी गरेर अर्को दिन त्यो सिनको सुटिङ गर्ने बताए । खोलामै हामफल्न त सम्भव थिएन । त्यसैले ‘चिट’ गरेर बारीमा फाल हान्ने सल्लाह भयो ।
बारी जोतेर माटो खुकुलो पार्ने र त्यसमाथि पराल र डस्ना राख्ने भए । सबै तयारी पूरा भयो । अर्को दिन सुटिङ सुरु भयो । सुटिङ सुरु भए पछि उत्तानो परेर पो तल झर्नु पर्ने दयाहाङले थाहा पाए । चारजनाले उचालेर उत्तानो पारेर फाल्दिए । सास थामेर दयाहाङ झरे । भुईँमा शरीर बज्रियो ।
प्राविधिक कुरा उनीहरूलाई थाहा थिएन । पुलको बार नापेर तल जोतेर पराल र डस्ना राखिएको थियो । चारजनाले ह्वात्त फाल्दा दयाहाङ पराल र डस्ना भए ठाउँमा हैन अर्कै ठाउँमा पुगे । भ्वाक्क गरेर खस्दा दयाहाङलाई मरेँ भन्ने भयो ।
तर, संयोग भनौं वा भाग्य ल्यान्ड राम्रै भएछ । सास रोकेकाले होला खासै असर गरेन । तर, सुटिङमा रहेका सबै आत्तिए । क्यामेराम्यानले क्यामेरा छोडेर दौडिए । निर्देशक आत्तिदै आए । निर्देशकले भने एकछिन नचलाऊ भने ।
दयाहाङ त्यो क्षण ‘साइको’ भए । उनलाई केही भएको थिएन तर दयाहाङलाई गाह्रो भयो भनेर केयर गर्न थाले । तर, भाग्यले उनलाई केही भएको थिएन । त्यही दिनदेखि दयाहाङले धेरै रिस्क लिन छोडे ।