निर्माणपक्ष भन्छ- ‘होस्टेल ३’ कलेज जीवनको कथा र नयाँ पुस्ताको जोस

काठमाडौं । चर्चित फ्रेन्चाइज ‘होस्टेल’ शृङ्खलाको तेस्रो भाग ‘होस्टेल ३’ फागुन २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो सिनेमा कलेज जीवन, मित्रता, प्रेम र सङ्घर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको हो ।

निर्माणपक्षले ‘होस्टेल ३’ केवल एउटा चलचित्र मात्र नभएर, यो कलेज जीवनको यात्रा रहेको बताइएको छ, जसले दर्शकहरूलाई हँसाउने मात्र नभइ, उनीहरूको आफ्नै स्मृतिहरू पुनर्जीवित गराउनेछ ।

निर्देशक शसान कँडेलले युवापुस्ताको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन् । यो सिनेमाले कलेज जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारिएको छ । नयाँ पुस्ताका प्रतिभाशाली कलाकारहरू यस चलचित्रमा देखिनेछन्, जसले कलेज जीवनको वास्तविक अनुभवलाई दर्शकहरूसामु प्रस्तुत गर्नेछन् ।

निर्माणपक्षका अनुसार यो चलचित्रले कलेज जीवनका रोमाञ्चक र भावनात्मक पक्षलाई समेट्नुका साथै युवा दर्शकहरूलाई विशेष रूपमा आकर्षित गर्ने विश्वास गरिएको छ ।

चलचित्रमा पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली लगायतका नयाँ कलाकारको अभिनय रहेको छ । उनीहरुसबै कलाकारले यही चलचित्रबाट रजतपटमा डेब्यु गरेका हुन् ।

चलचित्रका प्रमुख पात्रहरूमध्ये पारस बम ठकुरी, जसलाई कुलब्वाईको नामले लाखौँले चिन्छन् । रिहान गिरी, जो आफैँमा गायक हुन् । उनी भुटानका नेपाली हुन् । उनले ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणमा उत्कृष्ट १० स्थानसम्म पुग्न सफल थिए । आशिष घिमिरे, जसलाई हामीले चर्चित टेलिश्रृङ्खला ‘मेरी बास्सै’मा देखेका थियौँ । उनी ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् । आशिषले आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए । पदम तामाङ, जो भारतको सिक्किमका स्थायी बासिन्दा हुन् । उनी सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन् ।

यस्तै चलचिमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

चलचित्रका गीतहरू ‘टिक टिक टिक’ र ‘मनमा अनौठो’ ले दर्शकमाझ लोकप्रियता पाइरहेका छन् । माधव शर्माको लेखन रहेको चलचित्रलाई सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सले निर्माण गरेको हो ।

यस चलचित्रका निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता, गणेश मगर र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।