महजोडी भन्छन्- हामीले कुनै धर्मको विरोध र प्रचार गरेका छैनौँ, हामीविरुद्ध ‘अनर्गल’ प्रचार भयो

काठमाडौं । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले पछिल्लो समय सामाजिक सञ्जालमा आफूहरूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनीहरूले आफूहरूमाथि लगाइएका आरोप निराधार रहेको स्पष्ट पार्दै यस्ता दुष्प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा मह जोडीले अमेरिकी विकास सहायता (यूएसएआईडी) को रकम धर्म प्रचारमा प्रयोग गरेको आरोप लागेपछि उनीहरूले बिहीबार एक भिडियो सार्वजनिक गर्दै यो आरोप पूर्ण रूपमा गलत रहेको बताएका हुन् ।
“केही समूहहरूले मह जोडीले यूएसएआईडीको पैसा लिएर धर्मविरोधी काम गर्यो भन्ने गलत प्रचार गरेका छन् । यो सत्य होइन,” मदनकृष्ण श्रेष्ठले भने, “हाम्रो काम सधैं समाजसेवा, जनचेतना र मनोरञ्जनका लागि केन्द्रित रहँदै आएको छ ।”
“हामीले गलत गरेका छैनौँ । हामी सबैलाई आफ्नो हितैसी सम्झिन्छौँ । आफ्नो हितैसीले नै यस्तो आरोप लगाएपछि चित्त दुखेको छ,’ कलाकार श्रेष्ठले भने, ‘संसारमा राम्रा कुराहरू पनि छन् नराम्रा कुराहरू पनि यस कारण हामीले राम्रा कुराहरू मात्र छानेर काम गर्दै आएका छौँ ।, कसैले नियोजित रूपमा दुष्प्रचार गरिरहेका छन् ।”
उनले अगाडि भनेका छन्, “यूएसएआईडीको सहयोगमा कुष्ठरोग, स्त्री रोग, पोलियो थोपा खुवाउन, खोप दिने कार्यक्रमलगायतका काम भएका छन् । हाम्रा सबै टेलिफिल्महरू हरेर जाँच्नु भए हुन्छ । हामीले नराम्रा केही गरेका छैनौँ ।”
हरिवंश आचार्यले पनि यी आरोपहरू असत्य रहेको भन्दै यूएसएआईडीको सहयोग विभिन्न सामाजिक सेवाका कार्यका लागि मात्र प्रयोग गरिएको स्पष्ट पारे । “यूएसएआईडीको सहयोगमा कुष्ठरोग, स्त्रीरोग, पोलियो खोपलगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन् । हाम्रा टेलिफिल्महरू हेरेर जाँच गर्न सकिन्छ, त्यहाँ धर्मविरोधी केही छैन,” उनले थपे ।
आचार्यले मह सञ्चारले निर्माण गरेका टेलिसिरियलहरू पारदर्शी रूपमा युट्युबमा उपलब्ध रहेको भन्दै ती हेरेर सत्य थाहा पाउन सकिने बताए । “हामीले हिन्दू, बौद्ध वा कुनै पनि धर्मको विरोध गरेका छैनौँ । अर्को धर्म लिनुपर्छ भनेर कसैलाई उकासेका पनि छैनौँ,” उनले स्पष्ट पारे ।
हरिवंशले ०५२ सालमा ‘पन्चायत व्यवस्थाको सराद्धे’ कार्यक्रम गर्दा त्यसमा पण्डित पात्रको प्रवृत्तिमाथि व्यंग्य गरेको कुरालाई लिएर पनि भ्रम सिर्जना गरिएको बताए ।
आचार्यले भने, “हामीले पञ्चायतकालमा पनि तत्कालीन व्यवस्थाविरुद्ध व्यंग्य गरेका हौँ। व्यंग्य जसलाई पनि गर्न पाइन्छ । केही टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्नु कपोलकल्पित कुरा हो । पण्डित भन्दैमा भगवान हुँदैन । व्यंग्य पण्डितलाई पनि गर्न पाइन्छ । नेतालाई पनि गर्न पाइन्छ । प्रहरी, डाक्टर, वकिल, सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्नु कपोकल्पित कुरा हो , ’हामी हाम्रो काममा निरन्तर लागिरहन्छौं । पछाडि यस्ता किसिमका कुरा आएर हामी हतोत्साहित हुँदैनौं । हामी हाम्रो काममा निरन्तर लागि नै रहन्छम् ।”
सोही भिडियोमार्फत आफूहरू कुनै पनि धर्म विरोधी नरहेको कलाकार आचार्यले बताए । नियोजित रूपमा कोही व्यक्ति विशेष र समूह दुष्प्रचारमा लागिरहेको उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का गतिविधि रोक्नुका सम्बन्धमा सीबीएसकी पत्रकार मार्गरेट ब्रेननको ‘फेस द नेसन’ कार्यक्रममा मास्टले ‘नास्तिकता’ फैलाउन नेपालसहित कुन देशमा कति खर्च गरिएको थियो भनेर सार्वजनिक गरेका थिए ।
उक्त समाचार आएपछि सामाजिक सञ्जालमा कुन संस्थाले यूएसएआईडीमार्फत कति पैसा लिए भनेर विभिन्न व्यक्तिले सार्वजनिक गरिरहेका छन् । यूएसएआईडीमार्फत पैसा लिने संस्थाहरूको सूचीमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको संस्था मह सञ्चार पनि छ ।
सामाजिक सञ्जालमा केही समूहले अमेरिकाले विभिन्न देशहरूमा नास्तिकता फैलाउन रकम खर्च गरेको भन्ने समाचारको आधारमा मह जोडीमाथि आरोप लगाएका थिए ।
मह जोडीले आफूहरू यस्ता निराधार आरोपहरूबाट नडराई आफ्नो सामाजिक सेवाका कार्यहरू जारी राख्ने बताएका छन् । साथै, उनीहरूले नेपाली जनतालाई यस्ता भ्रामक प्रचारबाजीमा नफस्न अनुरोध समेत गरेका छन् ।
यो पनि पढ्नुहोस्
के भएको थियो ब्रिक्स क्याफेमा र माफी माग्नुपर्ने अवस्था आयो महजोडीले ?