‘फेरि रेशम फिलिली’ले दर्शकलाई हँसाउनुका साथै सोच्न पनि बाध्य बनाउँछ- निर्देशक निरोज

काठमाडौं । २०७२ सालमा रिलिज भएको चलचित्र ‘रेशम फिलिली’को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ महाशिवरात्रीको दिन पारेर फागुन १४ गते रिलिज हुन लागेको छ ।

फरक शैलीको कमेडी लिएर आएको चलचित्र ‘रेशम फिलिली’ रिलिज भएको भोलिपल्ट नेपालमा महाविनाशकारी भूकम्प गएको थियो । त्यसको असरले प्रदर्शन प्रभावित बनेको थियो । 

अघिल्लो भागलाई प्रणव जोशीले निर्देशन गरेका थिए । यो सिनेमामा समावेश ‘पिरतीको छाता ओढाउन’ बोलको गीतले दर्शकमाझ विशेष स्थान बनायो ।

झण्डै एक दशकपछि आउने घोषणा भएको यो सिक्वेलको निर्देशन नयाँ निर्देशक निरोज महर्जनले गरेका । प्रायः सिक्वेलमा पुरानै निर्देशक रहने भए पनि ‘फेरि रेशम फिलिलि’ मा नयाँ निर्देशकको आगमनले उत्सुकता बढाएको छ ।

नव-निर्देशक आएसँगै धेरैलाई यी निर्देशकले सिनेमाको पुरानो साख कायम गर्लान ? यो सिनेमा जेका लागि मनपराइएको थियो त्यो अन्तर्य बोक्न यी नव-निर्देशकले सक्लान् त ? भन्ने संशय थियो ।

तर, निर्देशक निरोज महर्जन यसअघि नै ‘रेशम फिलिली’ निर्माण प्रक्रियामा संलग्न थिए । यस बारेमा उनी भन्छन्, ‘त्यो टिमकै सदस्य थिएँ । कहिले असिस्ट गरिराको हुन्थे, कहिले विनय दाइको डाइलग लेखिरा हुन्थे । म्यूजिक भिडियोहरूमा निर्देशक प्रणव जोशीसँग काम गरिसकेको थिएँ ।’

सिक्वेललाई आफ्नो डेब्यू निर्देशनको रूपमा किन छाने भन्ने प्रश्नमा निरोज भन्छन्, ‘हामी सिनेमा गर्ने योजनामा थियौं, र यो नाम पहिल्यै स्थापित थियो । साथै, यसको कथा मेरो आफ्नै हो । मलाई भन्न मन लागेको कथा भएकोले मैले निर्देशन गर्ने निर्णय गरेँ ।’

निरोजले आफ्नो सिनेमाले दर्शकलाई धोका नदिने दाबी गर्दै यसलाई ‘नट जस्ट अ कमेडी’ भन्दै परिभाषित गरेका छन् । ‘यसमा कमेडी मात्र होइन, ड्रामा र गहिराइ पनि छ । पहिलो सिनेमामा स्ल्यापस्टिक कमेडी बढी थियो, तर यो कथात्मक हिसाबले अझ बलियो छ,’ उनले स्पष्ट पारे ।

सिनेमामा पुनः रेशम र हरियाको मित्रता देख्न पाइनेछ । उनीहरूकै सम्बन्धले कथालाई मनोरञ्जनात्मक बनाउनेछ । साथै, नेपाली समाजमा विदेशिनेलाई गरिएको रोमान्टिसाइजेसन र खाडी मलेसियामा जानेहरूप्रति राखिने दृष्टिकोण पनि कथाको मुख्य पाटो रहने छ ।

सिनेमाको टिजर र ट्रेलर सार्वजनिक भइसकेका छन्, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ‘पहिलो राम्रो कि दोस्रो?’ भन्ने प्रश्नको उत्तर दर्शकले नै दिने निरोजले बताएका छन् ।

‘फेरि रेशम फिलिलि’ले दर्शकलाई हँसाउनुका साथै सोच्न पनि बाध्य बनाउने विश्वास गरिएको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छिन् ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन छ ।