‘होस्टेल-३’को ट्रेलरमा मित्रता, मस्ती, प्रेम र उतारचढाव

काठमाडौं । फागुन २३ गतेदेखि प्रदर्शनमा हुन लागेको चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।
चलचित्रको ट्रेलर कलेज जीवनको संघर्ष, मस्ती, प्रेम र चुनौतीको कथामा आधारित छ । जसमा युवापुस्ताको जीवनशैली, सम्बन्ध र तिनले सामना गर्नुपर्ने उतारचढाव र षड्यन्त्रको कथालाई देखाइएको छ ।
सशान कँडेलको निर्देशनमा बनेको चलचित्रमा पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अभिनेता प्रवीण खतिवडाको ‘भ्वाइस ओभर’ रहेको ट्रेलरमा कलेज जीवनका रमाइला पलसँगै प्रेम, द्वन्द्व, त्याग र संघर्षको मिश्रण देख्न सकिन्छ । ट्रेलर हेर्दा मुख्य पात्र पारस बम ठकुरी (कुल ब्वाय) मा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ ।
माधव शर्माको लेखन रहेको चलचित्रलाई सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सले निर्माण गरेको हो ।
चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्मातामा शंकर कोइराला छन् । सह-निर्माताहरु शिशिर ज्ञवाली, कुन्दन गुप्ता, गणेश मगर र अनिश सिग्देल रहेका छन् ।
चलचित्रमा अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन र विकास दाहालको सम्पादन रहेको छ ।
यसअघि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ले दर्शकमाझ लोकप्रियता कमाइसकेका छन् । ‘होस्टेल’ शृङ्खलाबाट अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, सुशील सिटौला लगायत कलाकार यस अगाडि उदायका थिए ।
‘होस्टेल’ फ्रेन्चाइजकै तेस्रो श्रृंखला ‘होस्टेल ३’ ले पनि नेपाली चलचित्रप्रेमी दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने निर्माण टिमको अपेक्षा रहेको छ ।