अमेरिकाले भिसा नदिएपछि सुजन चापागाईंको सांगीतिक टुर अनिश्चित

काठमाडौं । चर्चित गायक सुजन चापागाईंले अमेरिकामा गर्न लागेको सांगीतिक टुर अनिश्चित बनेको छ । नेपाल स्थित अमेरिकी राजदूतावासले भिसा नदिएका कारण चापागाईंको ब्यान्डको अमेरिकामा तय भएको कार्यक्रम स्थगित भएको हो ।

जदूतावासमा भिसाको लागि भएको अन्तर्वार्तामा गायक चापागाईंको ब्याण्डका १ जना सदस्य बाहेक अधिकांशले भिसा प्राप्त गर्न नसकेपछि अमेरिका यात्रा अन्योलमा परेको बताइएको छ । ब्यान्डका सबै सदस्यलाई भिसा नदिएपछी पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको उनले सामाजिक सञ्जालमार्फत फेसबुकमा उल्लेख गरेका छ्न् ।

२०२५ मार्च देखि अमेरिकाको बिभिन्न राज्यका विभिन्न शहरमा तय भएको ‘आरोह अमेरिका–सुजन चापागाईं एण्ड द ब्याण्ड’ नामक उक्त कार्यक्रम गर्ने योजना थियो । तर, भिसा नपाएपछि यो कार्यक्रम हाललाई रोकिएको चापागाईंले बताएका छन् ।

उनले लेखेका छन्, “लामो समयदेखि नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने हाम्रो प्रयासमा यो बाधा आएको छ । ८ सदस्यीय हाम्रो ब्याण्डबाट केवल १ जनाले मात्र भिसा प्राप्त गरेपछि निर्धारित कार्यक्रमहरू प्रभावित भएका छन् । लगभग दुई वर्षको तयारीपछि हाम्रो लाइभ जर्नी पुनः सुरू गर्ने वाचा पूरा गर्न नसक्दा दु:खी छु । आयोजक, दर्शक तथा शुभचिन्तकहरूप्रति क्षमा चाहन्छु । हामी पुनः भेट्नेछौं ।”

सुजन चापागाईं नेपाली संगीतमा स्थापित नाम हो । उनका थुप्रै गीतहरू श्रोतामाझ अत्यधिक लोकप्रिय छन् । विशेष गरी ‘अन्तरहृदय’, ‘सम्झनाका गल्लीहरू’ जस्ता गीतहरूले उनले फराकिलो दर्शक वर्ग बनाएका छन् । उनको सांगीतिक यात्रालाई लिएर फ्यानहरू उत्साहित थिए, तर अहिलेको यो घटनाले उनीहरू केही निराश भएका छन् ।

तथापि, गायक सुजनले आगामी दिनमा फेरि अमेरिका टुरको योजना बनाउने संकेत गरेका छन् । उनले यो अनिश्चितताको कारण पर्न गएको असर प्रति सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तक प्रति क्षमा माग्दै उनले हामी पुनः भेट्ने बाचा समेत गरेका छन् ।