चलचित्र ‘लाज शरणम्’को सेन्सर पास, प्रदर्शनमा आउने निश्चित

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरि पास गरेको हो ।
उच्च अदालत पाटनमा मुद्दा परेपछि चलचित्र प्रदर्शन हुने नहुने अन्योलता थियो । पूर्वमन्त्री मोहम्मद अफताब आलमले चलचित्रमा आफ्नो चरित्रलाई तोडमोड गरी प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा अन्तरिम आदेश माग गरेका थिए । अदालतले चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अध्ययन गर्ने आदेश दिएपछि यसको प्रदर्शन मिति अन्योलमा परेको थियो ।
तर, सेन्सर बोर्डले चलचित्रलाई पास गरेसँगै अब पूर्वनिर्धारित मितिमा नै प्रदर्शन हुने पक्का भएको छ ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिका सिताराम कट्टेल (धुर्मुस) ले निर्वाह गरेका छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् भने विजय, अर्जुन, सागर, हरिष, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।
अदालतको आदेश अनुसार सेन्सर पास नहुँदासम्म चलचित्रको प्रचारप्रसार गर्न रोक लगाइएको थियो । आलमले चलचित्रले उनको छविमा आँच पुग्ने भन्दै कानुनी लडाइँ अघि बढाएका थिए ।
अब भने सेन्सर बोर्डले अनुमति दिएसँगै ‘लाज शरणम्’लाई प्रदर्शन गर्न कुनै कानुनी अवरोध नरहेको देखिन्छ । चलचित्र निर्माण टिमले पनि निर्धारित मितिमै प्रदर्शन हुने बताएको छ ।