‘पहाड’को रोकिएको छायांकन पुनः सुरू

काठमाडौं । चर्चित निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘पहाड’को रोकिएको छायांकन पुनः सुरू भएको छ ।
गत माघ २२ गते मुहूर्तसँगै सुटिङ सुरू भए पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि सिनेमाको छायांकन रोकिएको थियो ।
स्वास्थ्यलाभ पश्चात् फागुन ९ देखि पुनः गोरखामा चलचित्रको छायांकन सुरु भएको छ । निर्देशक घिमिरेका अनुसार सिनेमाको पूर्वनिर्धारित तालिकाअनुसार नै अगाडि बढिरहेको छ ।
चलचित्र ‘पहाड’ले युवा जनशक्ति विदेश पलायन भएपछि खाली भएका पहाड र त्यसले समाजमा पारेको सामाजिक तथा आर्थिक प्रभावलाई चित्रण गर्नेछ ।
निर्देशक घिमिरे चलचित्रको कथा आफैंले लेखेका हुन् । उनका अनुसार चलचित्रले बसोबासविहीन बनेका उच्च पहाडहरू, देशप्रतिको दायित्व, र समाजको यथार्थलाई दर्शकसामु प्रस्तुत गर्नेछ ।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतको अभिनय रहनेछ । साथै, निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीको रूपमा डेब्यू गराउँदै छन् । यसमा पञ्चमीको जोडी अभिनेता अरुण क्षेत्रीसँग बाँधिएको छ ।
सिनेमाकोको प्रोडक्सन डिजाइनरको जिम्मेवारी भने घिमिरेकी जेठी छोरी भावना घिमिरेले सम्हालेकी छन् ।
ओजस्वी केसी निर्माता रहेको चलचित्रको छायांकन गोरखा र आसपासका स्थानमा २५ दिन तथा भारतमा १५ दिन हुने बताइएको छ । प्रमोद प्रधानले सिनेमाकोको छायांकनको जिम्मेवारी सम्हालेका छन्, जो निर्देशक घिमिरेसँग यसअघि ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ जस्ता चर्चित चलचित्रहरूमा काम गरिसकेका छन् ।
चलचित्रको संगीत निर्देशक रञ्जित गजमेर हुन् भने क्रिएटिभ निर्देशक भारती घिमिरे छिन् । यसलाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट तथा डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।
‘दर्पणछाया २’ पछि केही समय निर्देशनबाट टाढा रहेका तुलसी घिमिरे ‘पहाड’ मार्फत पुनः निर्देशनमा फर्किएका हुन् ।