‘कल्ली’को छायांकन सुरु, उत्तम प्रधानको कमब्याक

काठमाडौं । चलचित्र ‘कल्ली’को छायांकन सुरु गरिएको छ । लक्ष्मण सुनारले निर्देशन गर्न लागेको सिनेमाको पहिलो दृश्य काठमाडौंको बौद्धस्थित एक घरमा अभिनेता नाजिर हुसेन, अभिनेत्री वर्षा राउत र चर्चित कलाकार उत्तम प्रधानको दृश्य खिचिएसँगै छायांकन सुरु भएको हो ।

१३ वर्षपछि चलचित्र क्षेत्रमा पुनरागमन गर्न लागेका अभिनेता प्रधान यो सिनेमालाई लिएर निकै उत्साहित देखिएका छन् । उनले भने, ‘यो फिल्मको कथावस्तु मलाई निकै मन पर्यो । मैले यसअघि गरेका फिल्मभन्दा फरक भूमिका भएकाले काम गर्न लागेको हुँ । यसबीचमा धेरै फिल्मको अफर आए पनि मन पर्ने भूमिका नपाएकाले काम गरेको थिइनँ ।’

सुटिङ सेटमा भेटिएका अभिनेता हुसेन र अभिनेत्री राउतले आफूहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताएका छन् ।

३५ दिन लामो सेड्यूलसहित केही दिन काठमाडौंमा छायांकन गरेपछि टिम जुम्ला प्रस्थान गर्ने निर्माणपक्षले बताएको छ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । हिमाल कडरिया र अमलादेवी राईको लगानी रहेको सिनेमामा महेश दवाडीको लेखन रहेको छ ।

सरोज नेपाली कार्यकारी निर्माता यस सिनेमाका छायाकार निसाल पौडेल हुन् ।

‘कल्ली’मा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।