नेपालमा हुने गुलाम अलीको कार्यक्रमको टिकट मूल्य दुई लाख

काठमाडौं । पाकिस्तानी गजलगायक गुलाम अली गीत गाउन नेपालमा आउने भएका छन् । चैत २ गते ललितपुरको पुल्चोकस्थित प्लाजामा तीन घण्टा ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रममा उनी गीत गाउन नेपाल आउँदै छन् ।
टिकट मूल्य पाँच हजारदेखि दुई लाखसम्म राखिएको छ । पाँच हजार, दश हजार, १५ हजार, एक लाख र दुई लाख रुपैयाँ टिकटको मूल्य रहेको छ ।
दुई लाखको टिकटमा फ्रन्टमा ८ वटा सिटको टेबुल रहनेछ । एक लाखको टिकटमा टेबुलसहित ६ वटा सिट रहेको आयोजकले जनाएको छ । फाइभस्टारको डिनर र वेलकम ड्रिंक्स पनि रहेको आयोजक मिलन लामाले बताएका छन् ।
एक हजारवटा टिकट बिक्री गर्ने मिलनले जानकारी दिए । आयोजक साधना कला केन्द्र रहेको छ । साधना कला केन्द्रका सञ्चालक मिलन मोक्तानका अनुसार फागुन २९ गते गुलाम अलीसहित ११ जनाको टिम नेपाल आइपुग्नेछ ।
गुलाम अलीले ‘गाजलु ती ठूला ठूला आँखा’लगायत चार नेपाली गीतसहित दर्जनबढी हिन्दी गीत गाउनेछन् ।
आयोजक मोक्तानले पहिलोपटक गुलाम अलीको तीन पुस्तालाई एउटै मञ्चमा उर्तान लागेको बताए । गुलाम अलीसँगै उनका छोरा अमिर गुलाम अली र नाती नाजिर गुलाम अलीले पनि गीत गाउनेछन् ।
मिलन मोक्तानले गुलाम अलीको कार्यक्रममा टिकटबाट संकलित रकमको केही प्रतिशत रकम गायन र नृत्य सिकिरहेका बालबालिकालाई एक वर्षको छात्रवृत्ति प्रदान गरिने बताए ।