‘पाटन फेस्ट २०२५’ हुँदै, चर्चित ४ व्याण्डले प्रस्तुति दिने

काठमाडौं । नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको एकल आयोजनामा यही चैत्र २३ गते ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियममा आयोजना हुने यो सांगीतिक महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ चर्चित व्याण्डले आफ्नो प्रस्तुति दिनेछन् ।

आयोजकका अनुसार ती ४ व्याण्डमध्ये ‘जोन एण्ड द लोकल्स’ व्याण्डको प्रस्तुति पक्का भइसकेको छ । यो व्याण्डका प्रमुख गायक जोन चाम्लिङ राईका ‘हावा जस्तै’, ‘के गरौं’, ‘निहिती’ जस्ता गीतहरू विशेष चर्चित छन् । अन्य ३ व्याण्डको नाम छिट्टै सार्वजनिक गरिने बताइएको छ ।

यो कार्यक्रममा सहभागी हुनका लागि दर्शकले ६ सय, एक हजार र १२ सयको टिकट खरिद गर्न सक्नेछन् । साथै, टेबल बुक गर्न चाहनेले ३० हजारदेखि ६० हजारसम्मको टिकट खरिद गर्न सक्ने आयोजकले बताएको छ । खल्ती एपबाट दर्शकले टिकट काट्न सक्नेछन् ।

यस्तै, कार्यक्रममा सुविधासम्पन्न खानेकुराका लागि २० स्टल समेत राखिनेछ । आयोजकले यो कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधीबाट तयार पारिएको साउण्ड सिस्टमबाट संगीतको मज्जा लिन सक्ने बताएको छ ।

यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ । आयोजकले यो कन्सर्टमा ८ देखि १० हजार दर्शक उपस्थित हुने विश्वास लिएको छ ।