छायांकनमा जानुअघि नै ‘माग्ने राजा’को प्रदर्शन मिति घोषणा

काठमाडौं । आगामी वर्षको हरितालीका तीजलाई लक्षित गर्दै चलचित्र ‘माग्ने राजा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकनमा जानुअघि नै निर्माताहरूले यो सिनेमाको रिलिज मिति घोषणा गरेका हुन् ।

चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’, अभिनेता आर्यन सिग्देल, अभिनेत्री वर्षा शिवाकोटी, कलाकार विल्सन विक्रम राई, मिस पवि र शिशिर बाङदेलको मुख्य भूमिका रहनेछ ।

यो सिनेमामा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी करिब दश वर्षपछि पुनः एकसाथ देखिन लागेको छ । उनीहरू अन्तिम पटक चलचित्र ‘राम कहानी’ मा सँगै देखिएका थिए ।

विल्सन विक्रम राईलाई लोकप्रिय टेलिश्रृंखला ‘मेरी बास्सै’ मार्फत अभिनयको अवसर प्रदान गर्नुका साथै उनको पात्रको नाम ‘तक्मे बुढा’ पनि केदार घिमिरेले नै दिएका थिए ।

चलचित्रको निर्देशन ऋषि लामिछानेले गर्नेछन् भने पटकथा सामीप्य राज तिमल्सेनाको रहनेछ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन नरेन्द्र मैनालीले सम्हाल्नेछन् ।

करिब ३ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको यस चलचित्रका निर्माता मुनाल घिमिरे हुन् । उनी कलाकार मात्र नभई हाल दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत हुन् ।

‘माग्ने राजा’को छायांकन यही शिवरात्रिदेखि सुरु हुने तयारी गरिएको छ । चलचित्रलाई देशभर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्दैछ ।