गायक बिर्ख विश्वकर्माको ठगी प्रकरण: नक्कली ब्लड क्यान्सरको बहानामा करोडौं असुली

काठमाडौं । लोकगायक बिर्ख विश्वकर्माको नाम केही समययता सामाजिक सञ्जालमा निकै चर्चित छ । कारण, उनको ब्लड क्यान्सरको कथित रोग र त्यसको उपचारका लागि गरिएको सहयोग संकलन हो । तर, हालै मात्र सार्वजनिक भएको एक रिपोर्टले बिर्खको झुटको पोल खोल्दै लाखौँ नेपालीको सहानुभूति र सहयोग ठगी भएको पुष्टि गरेको छ ।

भरतपुर क्यान्सर अस्पतालले हालै सार्वजनिक गरेको स्वास्थ्य परीक्षण रिपोर्टमा बिर्खलाई ब्लड क्यान्सर नभएको पुष्टि भएको छ । अस्पतालको रिपोर्टमा उनलाई सामान्य स्वास्थ्य समस्या मात्र भएको उल्लेख छ । त्यसमा ब्लड क्यान्सर त परको कुरा, कुनै गम्भीर रोग नै नभएको देखिको छ। खासमा बिर्खलाई आन्द्रामा घाउ थियो, ब्लड क्यान्सरको भनेर उनले सुगरको औषधि देखाइरहेका रहेछन् ।

गायक बिर्खले करिब डेढ वर्षअघिसम्म आफ्नो आन्द्रामा घाउ भएर अस्पताल जाँदा आफूलाई ब्लड क्यान्सर भएको हल्ला फैलाए । उनले आफू बेसहारा रहेको र सहयोगबिना बाँच्छु भन्ने आशा छैन भन्ने भावनात्मक अपिल गरे । उनको उपचारका लागि कलाकारसहित थुप्रै युट्युबरले चन्दा संकलन अभियान चलाएका थिए ।

बिर्खले देश-विदेशबाट आर्थिक सहयोग संकलन गरेको र आन्द्राको घाउको उपचार गर्न आफूलाई ब्लड क्यान्सर भएको झुटो प्रचार गर्दै सहानुभूति बटुल्न खोजेको तथ्य बाहिर आएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । साथै, ब्लड क्यान्सरको बहानामा सहानुभूति देखाएर ठगी गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने आवाज उठ्दैछ ।

यो घटनापछि बिर्खको कडा आलोचना भइरहेको बेला बिर्खले दिल्लीमा उपचार गराएको दाबी गर्दै आफ्नो स्वास्थ्य रिपोर्ट हराएको बताएका छन् । ठगी आरोप खेपिरहेका उनले जेल जान तयार रहेको प्रतिक्रिया दिएका छन् ।

बिर्खले दिल्लीबाट काठमाडौं आउँदा सबै रिपोर्टहरू ट्याक्सीमा छुटेको दाबी गर्दै १५ दिनभित्र ब्लड क्यान्सर भएको कागज ल्याउने उनले बताएका छन् । तर, युट्युब अन्तर्वार्तामा हालैको उनको प्रस्तुति हेर्दा अहिलेसम्म उनले सबैलाई गुमराहमा राखेका थिए भनेर अनुमान लगाउन मुस्किल पर्दैन । ब्लड क्यान्सर पुष्टि भएन भने पैसा फिर्ता गर्नुहुन्छ भनेर सोध्दा उनले बरु जेल बस्ने बताएका छन् ।

तर, हालै सार्वजनिक स्वास्थ्य रिपोर्टमा बिर्खलाई कहिल्यै ब्लड क्यान्सर नभएको प्रमाणित भएको छ । उनले आफ्नो झुटलाई बल दिन सुगरको औषधिलाई क्यान्सरको औषधि भनेर देखाउँथे ।

मोडल सञ्चिता शाहीमाथि पनि शंका

विशेषगरि, गायक बिर्खलेको बचाउका लागि मोडल सञ्चिता शाही अगाडि आइन् । मोडल शाहीले बिर्खलाई बचाउन भन्दै विभिन्न अभियान सञ्चालन गरिन् । फेसबुक, युट्युब, टिकटकजस्ता प्लेटफर्ममार्फत उनले दैनिक सहयोगको अपिल गरिरहिन् । कतिपय युट्युबरले बिर्खको रुँदै गरेको भिडियो बनाएर अपलोड गरे । जसको कारण नेपालभित्र र विदेशमा रहेका नेपालीहरूले लाखौं रुपैयाँ सहयोग गरेका थिए ।

बिर्खका लागि सबैभन्दा बढी सहयोग संकलन गर्ने मोडल शाही अहिले आलोचनाको केन्द्रमा छिन् । बिर्खको सबैभन्दा नजिककी व्यक्तिका रूपमा देखिएकी सञ्चिताले नै सहयोग संकलनको नेतृत्व गरेकी थिइन् ।

मोडल शाहीले बिर्खलाई ‘मेरो प्यारो भाइ’ भन्दै फेसबुकमा सहयोगको अपिल गर्न थालिन् । दिनहुँ रुँदै भिडियो हाल्थिन्, बिर्ख बचाउन सबैलाई आग्रह गर्थिन् । सञ्चिताले बिर्खलाई किमो चढाउँदा महिनामा डेढ लाख खर्च हुन्छ सम्म भन्न भ्याएकी थिइन् ।

उनले नै बिर्खलाई बचाउन चन्दा उठाएकी थिइन्, उनले नै आँसु झारेर सहयोग मागेकी थिइन् । जब बिर्खको झुट खुल्यो, सञ्चिताले आफैँ पनि ठगिएको दाबी गरिन् ।

सञ्चिताले आफू पनि ठगिएको बताउँदै बिर्खको झुट सार्वजनिक भएसँगै माफी मागेकी छन् । उनले आफूले बिर्खलाई नजिकबाट चिनेर विश्वास गरेको तर अन्ततः आफू पनि ठगीएको महसुस भएको बताइन् । साथै, उनले संकलित रकम फिर्ता गर्न पहल गर्ने बताएकी छन् ।

सहयोग रकमको दुरुपयोग

सहयोग संकलनपछि बिर्ख उपचारका नाममा भारत गइरहन्थे । उनले हरेकपटक प्लेन यात्राको भिडियो हालेर सहयोगी मनहरूलाई झनै भावनात्मक रूपमा प्रभावित पार्न खोज्थे । युट्युबरहरूले नै उनलाई खोजेर अस्पतालको रिपोर्ट सार्वजनिक गरेपछि बिर्ख केही समय बेपत्ता भए ।

तर, पछि उनी पुन: देखा परे र आफ्नो रिपोर्ट ट्याक्सीमा छुटेको दाबी गरे । जब उनलाई ब्लड क्यान्सर भएको प्रमाण पेश गर्न भनियो, उनले बरु जेल जान तयार रहेको प्रतिक्रिया दिए ।

बिर्खलाई कारबाही हुने कि नहुने ? कानुन अनुसार, नेपालमा चन्दा उठाउन जिल्ला प्रशासनको अनुमति लिनुपर्छ । तर बिर्ख र सञ्चिताले अनुमति लिएका थिएनन् । चन्दा ऐन २०३० अनुसार, अवैध रूपमा चन्दा उठाए दुई वर्ष जेल र जरिवाना हुनसक्छ । तर, अहिले सम्म बिर्खविरुद्ध कुनै कानुनी कारबाही भएको छैन । जबसम्म कुनै निकायमा उजुरी पर्दैन, तबसम्म उनी सजिलै उम्कन सक्छन् ।

श्रीमती र छोरालाई लुकाएर झुटको व्यापार

बिर्खले ‘म एक्लो बेसहारा’ भनेका थिए, अर्को झुट भनेको उनकी श्रीमती र छोराबारे गरिएको गुप्तता थियो । उनले श्रीमती र छोरालाई लुकाएर आफू बेसहारा रहेको बताइरहे । तर, वास्तविकता के हो भने, उनकी श्रीमती भारतमै बस्छिन् र उनी समय-समयमा उनलाई भेट्न जान्थे ।

उनलाई नजिकबाट चिन्नेहरूले यसलाई पनि झुट भनेका छन्, उनी श्रीमतीसँग नियमित सम्पर्कमा छन् र नेपालबाट भारत भेट्न गइरहन्छन् । उपचारको नाउँमा विदेश जाने नाटक मात्र रहेछ ।

कलाकार र सहयोगी पनि ठगिए

बिर्खको उपचारका लागि देशभरका कलाकार, अभियन्ता र सहयोगी मनहरूले पनि साथ दिए । कलाकार दीपाश्री निरौला, मिथिला शर्मा, निर्मल शर्मा, रमेश बुढाथोकीलगायतले बिर्खको म्युजिक भिडियोमा पारिश्रमिक नलिई अभिनय गरे । उनीहरूले आर्थिक सहयोग मात्र होइन, गीत र भिडियो निर्माणमा नि:शुल्क काम समेत गरे ।

तर, बिर्खको वास्तविकता बाहिर आएपछि सबै कलाकार, अभियन्ता र सहयोगदाताहरूले आफू ठगिएको महसुस गरेका छन् । कतिपयले सामाजिक सञ्जालमार्फत माफी मागे भने कतिपयले यस्ता ठगीबाट जोगिन आग्रह गरे।

यो घटना सार्वजनिक भएपछि चर्चित गायिका समीक्षा अधिकारीले नक्कली बिरामी देखाएर सहयोग संकलन गर्ने ठगी गिरोहविरुद्ध कडा कदम चाल्न माग गरेकी छिन् ।

समीक्षाले सामाजिक सञ्जालमार्फत पछिल्लो समय केही व्यक्तिहरूले झुट्टा बिरामीको कथा बनाएर सहयोगी मनहरूलाई भावनात्मक रूपमा ब्ल्याकमेल गर्दै आर्थिक ठगी गरिरहेको घटनाहरू बाहिर आएका छन् । यस्ता घटनाप्रति आक्रोश पोख्दै वास्तविक पीडितहरू यस्ता ठगहरूको कारणले आवश्यक सहयोगबाट बञ्चित हुन सक्ने चिन्ता व्यक्त गरेकी छिन् ।

उनले लेखेकी छिन्, “नेपालमा अलि ठुलै रोग लाग्दा सरकारले नि:शुल्क उपचार गर्ने व्यवस्था छैन । हुनेखानेहरूले मात्रै बाँच्न पाउँछन्, हुँदा खानेहरू उपचार नपाएरै मर्नुपर्छ । नेपालीको मन ठूलो छ, हामी अरूको दुःख देख्न सक्दैनौँ । त्यसैले हामीले विभिन्न अभियानमार्फत धेरैलाई मृत्युको मुखबाट बचाएका छौँ । तर केही नक्कली बिरामी खडा हुने र सहयोगी मनहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्दै ठगी गर्नेहरूको पर्दाफास भएको छ ।”

उनले कलाकारिता, सामाजिक अभियन्ता वा नारी अधिकारको नाममा सञ्चालन हुने यस्ता अभियानहरूप्रति सचेत रहन आग्रह गर्दै सहयोगदाताहरूलाई बुझेर मात्रै आर्थिक सहयोग गर्न सुझाव दिएकी छन् । साथै, ठगी गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै उनले सरकारले यस्ता घटनामाथि गम्भीर अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।

हालसालै सामाजिक सञ्जालमा यस्ता फर्जी अभियानहरूबारे विभिन्न खुलासा भइरहेका छन् । वास्तविक पीडितहरूलाई आवश्यक सहयोग सुनिश्चित गर्न, नक्कली बिरामीको नाममा गरिने ठगीको तत्काल अन्त्य गर्नुपर्नेमा अधिकारीले जोड दिएकी छन् ।

यसैगरी, गायिका टीका सानुले गायक बिश्वकर्मा विरुद्ध ठगी आरोप लगाउँदै सजायको माग गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले बिर्ख बिश्वकर्मालाई क्यान्सर पीडित भनेर आफूलाई झुक्याएको दाबी गर्दै आफ्नो पछुतो सार्वजनिक रूपले व्यक्त गरेकी छिन् ।

करिब ११ महिना अघि बिर्खले उनलाई पटक-पटक फोन गर्दै आफू गम्भीर बिरामी भएको भन्दै सहयोग गर्न अनुरोध गरेका थिए । समय अभावका कारण उनी तुरुन्तै सहयोग गर्न नसके पनि, साथीहरू धनमाया र बहिनी हुमाको आग्रहमा उनले बिर्खलाई भेटेकी थिइन् । भेटका क्रममा बिर्खलाई अत्यन्त कमजोर अवस्थामा देखेपछि उनले व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेकी थिइन् र अन्य सहयोगका लागि अपिलसमेत गरेकी थिइन् ।

उनको अनुरोधपछि बिर्खलाई विभिन्न व्यक्तिहरूले आर्थिक सहायता प्रदान गरेका थिए । तर अहिले आएर बिर्ख क्यान्सर पीडित नै नभएको खुल्न आएको टीका सानुको दाबी छ । उनले बिर्खको यो कार्यले वास्तविक पीडितहरूलाई ठूलो असर पार्ने भन्दै कडा आक्रोश व्यक्त गरेकी छिन् ।

सानुले भनेकी छिन्, “मैले धेरै सहयोग उठाइदिएको थिएँ। यो बदमासले वास्तविक पीडितहरूलाई समेत अफ्ठ्यारो पार्ने र भविष्यमा सहयोग उठाउन कठिन बनाउनेछ। बिर्खलाई कानुनी सजाय हुनुपर्छ।”

उनले बिर्खलाई म्यासेज गर्दा कुनै प्रतिक्रिया नआएको पनि बताएकी छिन्। साथै, उनले बिर्खले आफूलाई परिवारविहीन बताएको तर हाल आएर श्रीमती र छोरा भएको तथ्य बाहिर आएकोमा झन् आश्चर्य लागेको उल्लेख गरेकी छिन्।

सानुले आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत बिर्खलाई प्रत्यक्ष प्रश्न गर्दै भनिन्, “भाइ, तपाईँ साँच्चिकै बिरामी हुनुहुन्थ्यो कि नाटक गर्दै सहयोग उठाउँदै हुनुहुन्थ्यो? मैले देखेको तपाईंको आँसु, खुट्टा कामेको अवस्था, र शरीरभरि देखिएको घाउ झूट थियो?”

साथै, उनले बिर्खलाई गल्ती स्वीकार गरेर स्पष्टीकरण दिन आग्रह गरेकी छिन् । बिर्खले ठगी नै गरेका हुन् भने कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।