चलचित्र ‘हर्ष’को शुभमुहूर्त: घोषणा गर्दा आँचल, छायाकंन सुरु हुदाँ वर्षा

काठमाडौं । डेब्यू निर्देशक एकता पौडेलको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘हर्ष’को शुभमुहूर्त गरिएको छ । शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा सिनेमाको शुभमुहूर्त गरिएको हो ।

फागुन १७ गतेदेखि फ्लोरमा जाने तयारीमा रहेको चलचित्र ‘हर्ष’मा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा देखिने छन् । यस अघि यस सिनेमाको घोषणा गर्दा खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई जोडी बाँधिने बताइएको थियो । तर, आँचलको ठाउँमा निर्माण टिमले वर्षालाई भित्र्याएको छ ।

आँचलले आफूसँग अन्य सिनेमाको छायांकन व्यस्तता भएकाले ‘हर्ष’ मा समय दिन नसकेर छोड्नु परेको बताइन् । आर्टखबरले अन्तिम समयमा आएर सिनेमा छाड्नु भएछ त ? भनेर प्रश्न गर्दा उनले भनिन्, ‘जेरी अन टप’ सिनेमाको छायांकन नसकिएकाले नयाँ सिनेमामा समय दिन कठिन भयो, त्यही भएर समय दिन पाइन् । सौहार्द रुपमा छाडेको हुँ ।’

खगेन्द्र र वर्षासँगै सिनेमामा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितको अभिनय रहनेछ ।

निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । सिनेमाको कथा उनी स्वयंले लेखेकी छिन् । यसअघि उनले केही छोटा सिनेमाहरु बनाएकी छन् ।

पौडेलले न्यूयोर्क फिल्म एकेडेमीबाट सिनेमा मेकिङ अध्ययन गरेकी छन् भने आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन् ।

पारिवारिक तथा सामाजिक कथावस्तु प्रस्तुत गर्ने ‘हर्ष’ सिनेमाको छायांकन आलोक शुक्लाले गर्नेछन् । संगीत बसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ भने चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्रीको कोरियोग्राफर कोरियोग्राफी, मुख्य सहायक निर्देशक कुलदिप शर्मा र निर्माण नियन्त्रक ईश्वर घिमिरे रहेका छन् ।

चलचित्र ‘हर्ष’लाई ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनले निर्माण गर्नेछ । सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल रहेका छन् भने कार्यकारी निर्माता हिक्मत चोखल रहेका छन् ।

यो चलचित्रलाई २०८२ सालमा रिलिज गर्ने योजना निर्माण पक्षले बनाएको छ ।