‘वरिष्ठ बलराम’ले लियो रिलिज डेट, लक्ष्मी पूजाका दिन रिलिज हुने

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो ।
निर्देशक सुरेन्द्र पौडेलका अनुसार यो चलचित्र तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ ।
चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।
नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय चलचित्र हो । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।
चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । छायांकन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ ।
‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ । चलचित्र सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जनप्रधान हुने निर्माण पक्षले जनाएको छ ।