समीर भट्टको प्रमुख भूमिका रहेको ‘बलिदान’का दुई पोस्टर सार्वजनिक
                     					
										
										
                     
काठमाडौं । सन्तोष सेनको निर्देशनमा बनेको एक्सनप्रधान चलचित्र ‘बलिदान’को दुई पोस्टर सार्वजनिक गरिएको छ ।
चलचित्र ‘१२ गाउँ’ बाट चर्चामा आएका नायक समीर भट्टको प्रमुख भूमिका रहेको सिनेमाको दुई फरक-फरक पोस्टर सार्वजनिक गर्दै आगामी वर्ष २०८२ सालको फूलपाती (असोज १३) गतेलाई प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको हो ।
सार्वजनिक पोस्टरहरूमध्ये पहिलो पोस्टरमा कालिमाताको पृष्ठभूमिमा समीर भट्ट त्रिशूलसहितको ठुलो हतियार बोकेर उभिएका छन्, जहाँ उनी आफ्नो लक्ष्य पूरा गरेपछि देखिने भावमा प्रस्तुत छन् ।
निर्देशक सेनका अनुसार यो पोस्टरले समीरले दानवी प्रवृत्तिका मानिसहरूको बलि चढाएपछि उत्पन्न दृश्य चित्रण गर्छ । दोस्रो पोस्टरमा उनी छरिएका लासहरूको बीचमा उभिएका छन् र एक व्यक्तिको खुट्टा समातेर लतारिरहेका छन्, जसले उनी नरसंहारको अवस्थाबाट गुज्रिएको संकेत गर्छ ।
निर्देशक सेनले ‘बलिदान’ को निर्माण सहज नभएको उल्लेख गर्दै पटकथा तयार पार्दादेखि छायाङ्कन र सम्पादनसम्म टिमले अपार मेहनत गरेको बताए । उनले भने, “जब मैले यो चलचित्र निर्माण गर्ने सोच बनाएँ, तब यति ठूलो बलिदान दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ। जीवनभर बगाएको रगतपसिनामध्ये सबैभन्दा धेरै यसैमा बगाएको महसुस गरेको छु।” सेनका अनुसार चलचित्र एक निश्चित समयको मात्र नभई, हिजो, आज र भोलीसम्म सन्देश दिने कथा बोकेको छ ।
निर्माण टिमका अनुसार फिल्मको पोस्ट-प्रोडक्सन दक्षिण भारतीय प्रविधि र सीपको प्रयोग गरेर सम्पन्न गरिँदैछ । साथै, एक्सन दृश्यहरू दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा करिब ३० जनाको टोली ले अत्याधुनिक प्रविधिबाट तयार पारेका छन् । विशेष गरी, फिल्मको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालिमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसले निकै चर्चा पाएको थियो ।
‘बलिदान’ को प्री-टिजर एक वर्षअघि सार्वजनिक गरिएको थियो, जहाँ २०८१ सालको फूलपातीलाई रिलिज मिति तोकिएको थियो। तर, उत्तम प्रस्तुति दिन थप समय आवश्यक भएकाले प्रदर्शन मिति २०८२ सालको फूलपातीमा सारिएको सेनले प्रस्ट्याए ।
चलचित्रमा समीरका अलावा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता रायलगायत कलाकारहरूको अभिनय रहनेछ ।
यो चलचित्रको सङ्गीत आर्टमान्डु टिम को सहकार्यमा तयार पारिएको छ । यसमा गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको टोलीले गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य साङ्गीतिक पक्षमा काम गरिरहेको छ ।
‘बलिदान’ आसुसेन फिल्म्स प्रा. लि.को प्रस्तुति हो । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताका रूपमा छन् ।
फूलपातीलाई यसअघि नै ‘डबल ट्रिपल’, ‘दशमी’, ‘हरिबहादुरको जुत्ता’, ‘महाराजधिराज’ र ‘माइतीघर’ लगायतका चलचित्रले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।
नेपाली सिनेमा क्षेत्रमा बहुप्रतिक्षित मानिएको ‘बलिदान’ले समाजका शोषित वर्गको आवाज बुलन्द पार्ने दाबी गरिएको छ । चलचित्रले नेपाली दर्शकलाई कत्तिको प्रभावित पार्छ भन्ने कुरा भने रिलिजपछिमात्रै थाहा हुनेछ ।
                        
                        
                        


