‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’मा अभावबीच प्रेम र दुःखसुख

काठमाडौं । व्यापारिक रूपमा सफलताका साथ चलिरहेको चलचित्र ‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माणपक्षले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको गीतमा सुरज पण्डितको स्वर छ ।

कुमार कट्टेलले निर्देशन गरे चलचित्रको गीतमा वसन्त उदासको शब्द, संगीत रहेको छ । डोल्पाका दृश्य समावेश गरिएको कर्णालीको विपन्न परिवारको एक दम्पती र उनीहरूको दुःखसुखलाई देखाइएको छ ।

भिडियो हेर्दा प्राकृतिक रूपमा सुन्दर कर्णालीका मनोरम दृश्य र सुन्दर मन भएका मान्छे पनि छन् भन्ने बुझाउँछ । चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको गीतले सिनेमाको मुख्य कथावस्तु र कर्णालीका विपन्न परिवारको एक दम्पती पीडालाई चित्रण गरेको छ ।

‘च्यातिएको चोली’ गीत मार्फत दर्शकलाई कर्णालीसँग जोड्ने प्रयत्नसँगै दुई मुख्य पात्रको अभावबीच फक्रिएको प्रेमकथा र उनीहरूको दुःखसुखलाई चित्रण गरेको छ ।

अब्बल अभिनय हेर्ने चाहना भएका दर्शकका लागि महेश र रेणुको अभिनय हेर्न ‘लाज शरणम्’ छुटाउनै नहुने चलचित्र बनेको छ । सुन्दर कर्णाली र पवित्र मन बोकेर हिँड्ने महेश र रेणुले मात्रै पनि यो चलचित्र हेर्ने दर्शकलाई होल्ड गर्छन् । यो गीतलाई ‘लाज शरणम्’ हेरेका दर्शकले रुचाएका छन् ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

‘लाज शरणम्’ले पहिलो दिनको ग्रसकलेक्सन सार्वजनिक गरेको छ । वितरकका अनुसार यो चलचित्रले पहिलो दिन एक करोड १० लाख रुपैयाँ कलेक्सन गरेको छ ।