रहेनन् कलाकार चेत बहादुर सिंह ‘राजा’

काठमाडौं । कलाकार चेत बहादुर सिंह ‘राजा’को निधन भएको छ ।

नेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव समेत रहेका सिंहको शुक्रबार दिउँसो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

कलाकार तथा कलाकार संघका पूर्वअध्यक्ष रवीन्द्र खड्काका अनुसार केही समयदेखि अस्वस्थ भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका सिंहको शुक्रबार दिउँसो उपचारको क्रममा निधन भएको हो ।

नेपाली कांग्रेससम्बद्ध साँस्कृतिक संघको केन्द्रीय सदस्य समेत रहेका सिंहले लामो समयदेखि नेपाली चलचित्र र टेलि सिरियलमा महत्वपूर्ण योगदान दिँदै आएका थिए ।

केही चलचित्रका निर्माता समेत रहेका सिंह पछिल्लो केही समयदेखि जण्डिस रोगबाट पीडित थिए । उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।

 सिंहको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सिंहको निधनले नेपाली चलचित्र उद्योगमा अपूरणीय क्षति पुगेको कलाकार तथा शुभचिन्तकहरूले बताएका छन् ।