लागूऔषध विरुद्धको महाअभियानमा चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच द्विपक्षीय सम्झौता

काठमाडौं । चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षिय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
गृहमन्त्री रमेश लेखको प्रमुख आतिथ्यता एवं गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक वसन्त कुँवरको समुपस्थितिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र प्रहरी अतिरिक्त महानिनिगे टेक बहादुर तामाङ बीच काठमाडौका उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा काठमाडौकको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा आयोजित कार्यक्रमा यो द्विपक्षिय सम्झौता भएको हो ।
यो सम्झौताअन्तरगत दुवै निकायले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य राखेका छ ।
विशेषगरी चलचित्रको माध्यमबाट लागूऔषधको दुष्प्रभावबारे जनचेतना फैलाउने योजना अघि सारेको छ । सम्झौताअनुसार लागूऔषधको प्रयोग तथा दुव्र्यसनलाई बढावा दिने खालका कुनै पनि चलचित्र, विज्ञापन वा सामाजिक सन्देशलाई निरुत्साहित गरिनेछ । साथै, सम्झौतामा लागूऔषध नियन्त्रण तथा दुव्र्यसन न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक चलचित्र तथा भिडियो सामग्री निर्माण तथा सिनेमा हलहरूमा प्रसारण गर्ने, विद्यालय तथा विश्वविद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सामुदायिकस्तरमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्ने पहल गरिने उल्लेख छ ।
सम्झौतामा लागुऔषध नियन्त्रणको लागि दुवै पक्षले एकरएक श्रोत व्यक्ति परिचालन गरि चलचित्र विकास बोर्ड र नेपाल प्रहरीको संयुक्त पहलमा लागूऔषध नियन्त्रण तथा दुव्र्यसन न्यूनीकरणका लागि थप रणनीति तय गरिने पनि बताइएको छ ।
यस अवसरमा अध्यक्ष दिनेश डीसीले लागूऔषधविरुद्धको अभियान लगायत समाज परिवर्तनको कुराहरुलाई सशक्त रूपमा अघि बढाउन चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, ने बी संघ केन्द्रिय अध्यक्ष दुजाङ शेर्पा , अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मोहन ढकाल, पत्रकार महासंघको उपाध्यक्ष नितु पण्डित, नागरिक समाजका अगुवाहरू र नेपाल प्रहरीका विशिष्ट श्रेणीका व्यक्तित्वहरूको साथमा सरोज खनाल, प्रदीप खड्का, रबिन्द्र खड्का, पुष्कर लामा, गायिका सुनिता दुलाल, ईन्दिरा जोशी, कलाकार सृष्टि खड्का लगायत चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो ।