‘झ्याइँ’को सफलतापछि हौसिएकी मञ्जयाश्री फेरि नेपाली–बलिउड फ्युजनको गीत ल्याउँदै

काठमाडौं । नेपाली र हिन्दी सङ्गीतको फ्युजन गीत ‘झ्याइँ’ ले सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट अब गायिका तथा अभिनेत्री मम्जयाश्री भट्टलाई लिएर अर्को नेपाली तथा बलिउडको संजुक्त प्रोजेक्टको तयारीमा जुटेको छ ।
‘झ्याइँ’को सफलताले नेपाली मौलिक सङ्गीतलाई अन्तरार्ष्ट्रिय स्तरमा पुर्याउने मार्ग प्रसस्त गर्यो र यही उत्साहबीच मम्जयाश्री अब एक चर्चित बलिउड सेलिब्रेटीका साथ नया साङ्गीतिक प्रोजेक्टमा देखिन लागेकी हुन् ।
मञ्जयाश्री र चर्चित बलिउड गायक देव नेगीको आवाजमा रहेको ‘झ्याइँ’ले नेपाली र भारतीय सङ्गीतप्रेमीहरूलाई साझा साङ्गीतिक यात्रामा पुर्याएको थियो । यस गीतले अमेरिकामा जन्मे-हुर्केकी मञ्जयाश्रीलाई भारत र नेपालमा चिनाउन मद्दत गरेको छ ।
नयाँ गीत पनि नेपाली र बलिउडको संजुक्त प्रस्तुति हुने गायिका भट्टले बताएकी छिन् । उनका अनुसार आगामी प्रोजेक्ट नेपाली र बलिउड सङ्गीतको फ्युजनलाई अझ नयाँ उचाइमा पुर्याउने उद्देश्यले निर्माण गरिँदै छ ।
गत वर्ष अमेरिकाको न्यूयोर्कसित टाइम्स स्क्व्यारमा सार्वजनिक गरिएको सो गीतमा नेपाली र हिन्दी सङ्गीतको अनौठो संयोजन प्रस्तुत गर्यो नेपाली लोकगीत ‘झ्याइँ पार्यो मलाई रत्यौलीको झिल्केले झ्याइँ पार्यो’ को प्रमुख अंशलाई समेटिएको छ ।
‘देवदास’ र ‘रङ्ग दे बसन्ती’ जस्ता सुपर हिट बलिउड चलचित्रहरू छायाँकन गरेका बलिउडका अनुभवी छायाँकार तथा निर्देशक विनोद प्रधानले निर्देशन गरेको ‘झ्याइँ’ मुम्बईको भव्य एम्पिरियल प्यालेसमा छायाँकन गरिएको थियो ।
उक्त गीतको साउन्ड इन्जिनियरिङ, मिक्सिङ, र मास्टरिङ चर्चित सञ्जय लीला भन्साली तथा धर्मा प्रोडक्सनका चलचित्रहरूसँग काम गरिसकेका राहुल शर्माले गरेका थिए । कोरियोग्राफी ‘पठान’ र ‘वार’ जस्ता चलचित्रहरूमा नृत्य निर्देशन गरिसकेका बोस्को सिजरले गरेका छन् ।
‘झ्याइँ’ गीतले युट्युबमा ८ करोड ४५ लाखभन्दा बढी भ्युज पार गरिसकेको छ भने संसारभर ट्रेन्डिङ भएको थियो ।