दुर्गेश थापालाई लक्षित गर्दै ज्योती मगरले भनिन्- ति भाईको कलाको सम्मान होस्

काठमाडौं । चर्चित गायिका ज्योति मगरले गायक दुर्गेश थापालाई लक्षित गर्दै कलाकारको कला र प्रस्तुतिलाई सम्मान गर्दै गरिखान दिन आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कलाकारको व्यक्तित्व र आचरण जतिसुकै खराब भए पनि उसको कलालाई सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् ।
बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै गायिका मगरले नेपालगञ्ज र दाङका डनहरूलाई गुहार माग्दा पनि दाङबासीहरूले दुर्गेश थापाको हेलिकप्टर बस्न नदिएको घटनाप्रति खेद प्रकट गरेकी छन् ।
‘एउटा कलाकारको व्यक्तित्व र आचरण जतिसुकै खराब भए पनि कलाकारको कलालाई सम्मान गर्नुपर्छ र गरिखान दिनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘सम्पूर्ण दाङवासीलाई पुरानो कुरा बिर्सिन र ती कलाकार भाइलाई अझै अगाडि बढ्न शुभकामना छ ।’

फागुन १८ गते दाङको तुलसीपुर महोत्सवमा गायक दुर्गेश थापाले प्रस्तुति दिने तय भए पनि स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै कार्यक्रममा रोक लगाएपछि उनले प्रस्तुति दिन पाएनन् ।
दुर्गेश थापाले फागुन १७ गते फेसबुकमार्फत आफू हेलिकप्टरमा तुलसीपुर महोत्सवमा आउन लागेको पोस्ट गरेका थिए । सोही पोस्टपछि गायिका मगरले सामाजिक सञ्जालमा व्यंग्य गर्दै ‘तुलसीपुर महोत्सवमा दुर्गेश थापाको हेलिकप्टर उड्यो कि उडेन?’ भन्ने स्ट्याटस लेखेकी थिइन्।
गायिका मगरको स्ट्याटसपछि दुर्गेशले कडा प्रतिक्रिया दिएका थिए । उनले फागुन १८ गते साँझ सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भनेका थिए, ‘केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल र नियोजित रणनीतिले मलाई महोत्सवमा दर्शकहरू माझ उपस्थित हुन दिएन । केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् । कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ । उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो ।’
गायिका मगर र गायक थापाबीचको विवाद पुनः सतहमा आएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।