कमर्सियल भ्यालु भएका सिन देखिएको ‘आउट ल : दफा २१९’

काठमाडौं । नेपाली चलचित्रका सिनमा लोभलाग्दो सिक्वेन्स कमै देखिन्छ । जुन बलिउड र हलिउडका कमर्सियल सिनेमामा देखिन्छ ।

विशषगरी भिलेन वा हिरोको नाइके, व्यापारी अथवा मन्त्रीको नाइकेको अघिपछि लाग्ने व्यक्तिको इन्ट्री र मन्त्रीको बैठकहरूमा जुन खालको लोभ्याउने सिन हुन्छ, त्यो नेपाली सिनेमामा कमै देखिन्छ ।

खलपात्र, नायक वा मन्त्रीका अगुवापछुवा गाडीको सिन जति विदेशी सिनेमामा देखिन्छ त्यस्तै सिन नेपाली सिनेमा फिकाफिका हुन्छन् । जुन सिनले सिनेमालाई आकर्षक र कमर्सियल भ्यालु बढाउँछन्, तिनै सिन नै कमजोर भएपछि सिनेमाप्रति विकर्षण बढ्नु स्वभाविक हो ।

तर, ‘आउट ल : दफा २१९’मा केही सिन गजबका देखिएका छन् । हिरोको इन्ट्री, टनेलभित्रको दृश्य, प्रहरीको सर्च अप्रेसन र प्यारासुटबाट ओर्लिएपछि प्रहरीको फैलावटका केही दृश्यले सिनेमाको भ्यालु बढाएको छ ।

डाइलग र त्यसको डेलिभरीले सुगन्ध थप्ने काम गरेको छ । कलर ग्रडिङ पनि अहिलेसम्म राम्रो देखिएको छ । यो ट्रेलरमा मात्र हो अथवा पूरै सिनेमामा नै हो, त्यो सिनेमा नहेरी भन्न सकिन्न ।

एक्सन दृश्यका लागि मुख्य पात्र सुशील श्रेष्ठले जोखिम उठाएको सिनमा देखिन्छ । हातमा आगो लगाएको सिनमा जोखिम प्रष्टै देखिन्छ ।

निर्माण पक्षले एउटै एक्सन सिनमा लागि ५० लाख खर्च गरेको बताएको छ । प्रहरीको हेलिकोप्टर प्रयोग गरेकाले त्यसमा विश्वास गर्ने ठाउँ देखिन्छ ।

पब्लिसिटीका लागि निर्माण टिमसँग सिनेमाभित्रका यी र यस्तै केही टुल्सलाई अगाडि सारेर सिनेमाको हाइप बढाउन सकिन्छ । तर, यसलाई बेच्न निर्माणपक्षले कति सक्छ, त्यसमा नै हाइप कति हुने निर्धारण हुनेछ ।

तर, यसका लागि अब पनि हतार नगरे निर्माणपक्षलाई ढिलो हुनेछ ।

अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । विकास चौधरी सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको सिनेमामा चुल्ठे काजीको एक्सन निर्देशन छ ।

सिनेमामा विक्की महर्जन र दिर्घ धामीको पटकथा, नवीन गुरुङको डीओपी छ ।

सिनेमामा सुशील श्रेष्ठसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की, अयान परियारलगायतको अभिनय छ ।

बिक्की महर्जनको निर्देशन रहेको चलचित्र ‘आउट ल दफा : २१९’ फागुन २९ गते रिलिज हुँदै छ ।