चलचित्र विकास बोर्डको तीनदिने महिला चलचित्र महोत्सव सम्पन्न

काठमाडौं । चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मी सशक्तिकरण समितिद्वारा आयोजित तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन सामाजिक अभियन्ता अनुराधा कोइरालाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भयो ।
नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न विधाका सातजना महिला स्रष्टाहरूलाई सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरूमा करिश्मा मानन्धर, रश्मी भट्ट, शोभा श्रेष्ठ, गीता अधिकारी, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो छन् ।
महोत्सवको पहिलो दिन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल प्रमुख अतिथि थिइन् । सो अवसरमा नेपाली सिनेमाको ऐतिहासिक धरोहर मानिएको ४६ वर्षअघिको चलचित्र सिन्दुर प्रदर्शन गरिएको थियो । उक्त चलचित्रका प्रमुख कलाकारहरूको ललितकलाद्वारा तयार पारिएको विशेष मुहारचित्र उनीहरूलाई समर्पण गरिएको थियो ।
महोत्सवको दोस्रो दिन नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त दिन महिलाले महिलाको विषयमा निर्माण गरेका लघु चलचित्रहरू प्रदर्शन गरिएको थियो । त्यस अवसरमा निर्देशकहरूसँग प्रत्यक्ष अन्तक्रिया गरिनुका साथै चलचित्रमा नारी विषयमा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्कालगायतसँग विशेष संवाद गरिएको थियो ।