श्रृष्टी भन्छिन्- सौगातसँग इन्गेजमेन्ट हुँदैछ भन्ने खबर सुनेर रमाइलो लाग्यो

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको नाम अहिले चलचित्र क्षेत्रमा खुबै चर्चामा छ । एक समय प्रेममा रमाएको यी दुईको ७ वर्ष लामो प्रेम सम्बन्ध केही समयअघि टुंगिएको थियो । बिहेको तयारी भइरहेको हल्ला चलेका बेला उनीहरू अलग भएको खबर बाहिर आएको थियो ।

ब्रेकअपपछि सौगात र श्रृष्टीको बोलचालसमेत बन्द भएको चर्चा थियो । यी दुबैले त्यस समयमा आफूहरू सहमतिमै अलग भएको र आ-आफ्नो काममा अघि बढ्ने बताएका थिए ।

अहिले चलचित्र ‘भाइरल गोर्खे’मा एकसाथ काम गरेपछि सौगात र श्रृष्टी पुनः नजिकिएको खबर बाहिर आउन थाल्नुका साथै केही मिडियामा चैत ३ गते इन्गेजमेन्ट गर्दैछन् भन्ने समाचार समेत बाहिरिएको थियो ।

यो जोडी फेरि प्रेममा छन् कि छैनन् भन्ने विषयमा खुलेर केही भनेका छैनन् । तर, उनीहरूबीचको सम्बन्ध सुधार हुँदै गएको केही संकेत देखिएको छ ।

श्रृष्टीले सौगातसँग आफ्नो सम्बन्धमा सुधार आएको कुरा स्विकार गरे पनि इन्गेजमेन्टको खबरलाई भने अस्वीकार गरिन् ।

बिहीबार राजधानीमा आयोजित चलचित्र ‘११ः५५’ को ट्रेलर रिलिज कार्यक्रममा श्रृष्टीले आफुहरूबीच फेरि राम्रो सम्बन्ध बनेको खुलासा गरेकी छन् । केही समययता श्रृष्टी र सौगातले इन्गेजमेन्टको तयारी गरिरहेको चर्चा चलिरहेको विषयमा सोधिएको प्रश्नमा

श्रृष्टीले भनिन्, ‘हामी पहिले पनि झगडा गरेर नराम्रो भएर अलग भएका थिएनौँ । के कारण अलग भएका हौं भन्ने सबैलाई थाहा छ । अहिले हामीबिच राम्रो सम्बन्ध छ ।’

इन्गेजमेन्ट हुन लागेको हल्लाका विषयमा श्रृष्टीले प्रस्ट पार्दै भनिन्, ‘चैत्र ३ गते नै इन्गेजमेन्ट हुँदैछ भन्ने खबर पनि सुने । तर, यो सत्य होइन । मलाई त्यो खबर सुनेर रमाइलो लाग्यो । कुनै प्रतिक्रिया गरिहालौँ भन्ने लागेन, उहाँहरूले भनेको समय आइहाल्छ त्यसपछि सत्यता बाहिर आउँछ भनेर नै मौन बस्न मन लाग्यो, अहिले त बिहेको कुनै कुरा छैन । हेरौं भोलिको दिनमा के हुन्छ ।’

सौगात र श्रृष्टी अर्को नयाँ सिनेमा ‘विनोद’मा सहकार्य गर्न लागेका छन् ।