‘भूठान’ले ल्यायो ‘कागजको खोस्टो’

काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’ले ‘कागजको खोस्टो’ बोलको गीत रिलिज गरेको छ ।

गीतमा पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द र वाचन छ । रिदम कँडेलको संगीत संयोजन, सुनील शिवभक्तिको सम्पादन रहेको गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ ।

गीतले परदेसिएकाहरूको कथा उठान गरेको छ । घर जान परदेशीमा देखिने हतारो र छटपटि गीतमा छ ।

जीवनकालमा जसरी पनि आफू जन्मिएको गाउँमा पुग्नै पर्छ भन्ने मनको चाहना र नपुगेको मर्ने बेलामा पनि यसकै छटपटि रहिरहला भन्ने आशंकासहितको मातृभूमिको माया गीतमा छ ।

हरिवंश आचार्यको जीवन्त अभिनय रहेको गीतको भिडियो सुसन प्रजापतिले खिचेका छन् ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेकाछन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् ।

कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

चलचित्र वैशाख १२ मा प्रदर्शनमा आउनेछ ।