नागरिकको सुरक्षा अधिकारप्रति प्रश्न उठाउने ‘आउट ल दफा: २१९’ को ‘अन्धो कानून’

काठमाडौं । आउँदो फागुन २९ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘आउट ल दफा : २१९’ को नयाँ गीत ‘अन्दो कानून’ सार्वजनिक गरिएको छ ।
शुक्रबार सार्वजनिक गरिएको ‘अन्धो कानून’ गीतमा मिस्टर डीको र्याप, मेलोडी, शब्द तथा स्वर समावेश छ भने गायिका नितु पुनले उनलाई साथ दिएकी छन् । गीतको शब्दहरूले समसामयिक राजनीतिक विकृतिलाई उजागर गर्ने प्रयास गरेको छ ।
गीतको शीर्षक ‘अन्धो कानून’ ले त्यस्ता कानूनी प्रावधानप्रति संकेत गर्छ, जसले सरकारी अधिकारीहरूलाई मनोमानी अधिकार दिन्छ । यस र्याप गीतले न्यायिक प्रक्रियामा भएको हस्तक्षेपको आलोचना गर्दै नागरिक अधिकारको सुरक्षा सुनिश्चित गर्नुपर्ने सन्देश दिन खोजेको छ ।
गीतमा ‘न्यायिक प्रकृया’मा सरकारले गरेको हस्तक्षेपबारे प्रश्न उठाइएको छ । कुनै पनि नागरिकलाई प्रमाणबिना पक्राउ गर्ने, अनुसन्धान गर्ने र मुद्दा चलाउने सुरक्षा निकायको अधिकारप्रति गीतले असहमति प्रकट गरेको छ । गीतको भिडियोले कानूनी प्रक्रियामा निष्पक्षता आवश्यक रहेको बताउँदै न्यायिक प्रणालीको स्वतन्त्रतालाई बलियो बनाउनुपर्ने विषय उठाएको छ ।
जनताको सुरक्षाका लागि निष्पक्ष कानूनी प्रक्रिया आवश्यक छ भन्ने सन्देश दिन खोजिएको भिडियोमा मिस्टर डी र रश्मी आचार्यलाई फिचर गरिएको छ ।
बिक्की महर्जनको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् । सुशीलका अलावा सिनेमामा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की, अयान परियारलगायतको अभिनय छ ।
चलचित्रको पटकथा विक्की महर्जन र दिर्घ धामीले तयार पारेका हुन् भने नवीन गुरुङले छायांकन (डीओपी) गरेका छन् । सिनेमामा अमित अग्रहरि र नीशा गुइडेले लगानी गरेका छन् भने विकास चौधरी सह-निर्माता तथा विनोद कठायत कार्यकारी निर्माता रहेका छन् ।
‘आउट ल दफा : २१९’ फागुन २९ गते रिलिज हुँदै छ । सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रले अन्याय, कानूनी प्रक्रिया र समाजमा व्याप्त भ्रष्टाचारबारे आवाज उठाउने निर्माण टिमको दाबी छ । सिनेमाप्रति दर्शकको उत्सुकता बढ्दै गएको छ भने सार्वजनिक गीतले थप चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।