निफको ओपनिङ स्क्रिनिङ हल रिलिज भइसकेको ‘साम्बाला’

काठमाडौं । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा ओपनिङ सिनेमाका रूपमा ‘साम्बाला’ प्रदर्शन हुने भएको छ । मार्च २० दिउँसो २ बजे सुन्धारास्थित सिभिल महलमा यो चलचित्र प्रदर्शन हुने भएको हो ।
यसअघि ओपनिङ सिनेमाका रूपमा ‘भूठान’ रहेको निफले जनाएको थियो । तर, ‘भूठान’को निर्देशक तथा निर्माताले आफूहरूलाई निफमा बिनासल्लाह टिमबाट कसैले पठाएको भन्दै स्क्रिनिङ नगर्ने बताएका थिए ।
नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भूठान’का निर्माताले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि उक्त चलचित्रलाई महोत्सवबाट हटाइएको निफका अध्यक्ष केपी पाठकले बताएका थिए ।
त्यसपछि निफले हल रिलिज भइसकेको चलचित्र ‘साम्बाला’लाई ओपिनिङ सिनेमाका रूपमा स्क्रिनिङ गर्न लागेको हो ।
७० देशका ६०० भन्दा बढी चलचित्रबाट छनोट भएका ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरिसकेको छ ।
निफको आठौँ संस्करण चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ ।
निफको आठौँ संस्करणमा बुसान, कान्स, लोकार्नो, बर्लिनजस्ता प्रतिष्ठित महोत्सवहरूमा प्रदर्शन भइसकेका चलचित्रहरू पनि महोत्सवमा देखाइनेछन् ।
निफ महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, राजनीतिज्ञ तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूबीच छलफल तथा कार्यशाला हुनेछन् । प्रविधिको विकासलाई आत्मसात् गर्दै यस संस्करणदेखि एआई प्रविधिबाट बनाइएका वा सोसम्बन्धी विषयमा बनेका चलचित्रको प्रतिस्पर्धा समेत राखिएको छ ।
सिभिल मल र छाया सेन्टरका हलमा छानिएका चलचित्रहरू प्रदर्शन गरिनेछन् भने पर्यटन बोर्डको हल र राष्ट्रिय सभागृहमा विभिन्न छलफल तथा कार्यशाला सञ्चालन गरिनेछ ।
महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड तथा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ ।
एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद तथा ट्रफी, उत्कृष्ट सर्ट फिल्म र वृत्तचित्रलाई ५०–५० हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।