‘झिल्को’ टिजरमा प्रविधिको सामाजिक विस्तारिकरण र पार्ने प्रभावको कथा

काठमाडौं । झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ ।

बिहीबार निर्माण टिमले सार्वजनिक गरेको टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको बालबालिकामा पर्ने असरलाई चित्रण गरेको छ ।

टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ ।

मोबाइलका कारण सम्बन्धमा आउने दरार, मानिसहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा हराउँदै गएका पात्रहरूको कथालाई टिजरले उजागर गरेको छ ।

यसअघि ‘झोला’ मा सती प्रथा र ‘भोर’मा दाइजो प्रथामा सामाजिक कथा देखाएका निर्देशक भट्टराईले ‘झिल्को’ मा अहिलेको समयमा प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरेका छन् ।

मिडिया फर कल्चर प्रा.लि.को प्रस्तुति र जनता टिभिले निर्माण सहकार्य गरेको चलचित्रमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, आयुषि ढकाल, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठ मुख्य भूमिकामा छन् ।

दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र साउण्ड मिक्सिङ उत्तम न्यौपानेको रहेको ‘झिल्को’ को कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् ।

फिल्ममा आनन्द अधिकारीको गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीत शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर रहेको छ। चलचित्र ‘झिल्को’ आगामी वैशाख १९ गते रिलिज हुँदैछ ।