चलचित्र ‘राजागंज’ सेन्सरमा रोकियो, किन भनियो प्रधानमन्त्रीको पत्र ल्याउन ?

काठमाडौं । चैत १ गते नेपालभर प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘राजागंज’को सेन्सर रोकिएको छ । निर्देशक दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमाको केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बोर्डमा रोकिएको छ ।

सेन्सर बोर्डले केही शब्द र सामग्रीमा आपत्ति जनाउँदै सुधार गरी पुनः पेश गर्न निर्देशन दिएको छ ।

चलचित्रमा समावेश ‘कुहिएको आँप’ भन्ने शब्दप्रति सेन्सर बोर्डले असहमति जनाएको छ । सेन्सर बोर्डमा उपस्थित एक व्यक्तिले भने, “सो शब्दप्रति आपत्ति जनाइएको देखिन्थ्यो ।”

सेन्सर बोर्डले उक्त शब्द हटाउन सुझाएपछि निर्माणपक्षले चलचित्रको मर्म नै कमजोर हुने भन्दै नहटाउने अडान लिएको थियो । तर, सेन्सर बोर्डले यदि राख्नै पर्ने भए प्रधानमन्त्री कार्यालयबाट अनुमतिसहितको पत्र ल्याउनुपर्ने सर्त अघि सारेको छ ।

सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यका अनुसार, “चलचित्रमा हालका चर्चित राजनीतिक पात्र र एक पूर्वप्रधानन्यायाधीशको अन्तर्वार्ता समावेश गरिएको पाइयो । सन्दर्भविहीन सामग्री नराख्न निर्देशन दिइएको छ । साथै, अरूको सम्पत्ति प्रयोग गर्न अनुमति आवश्यक पर्ने भएकाले स्वीकृति ल्याउन भनिएको छ ।”

त्यसैगरी, चलचित्रमा समावेश केही अन्य सामग्रीहरूमा पनि सेन्सर बोर्डले आपत्ति जनाएको छ ।

यो चलचित्रले २०७२ सालमा संविधान जारी भएपछि मधेस आन्दोलनको पृष्ठभूमिमा आधारित कथा प्रस्तुत गर्नेछ । चलचित्रमा मधेस आन्दोलनका बेला अपहरणमा परेका सभासद र प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अभियानको कथा देखाइनेछ ।

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय रहेको छ ।

यस चलचित्रको निर्माणमा आदि फिल्म्सका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्म्सका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

नेपालमा चलचित्रलाई टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रूपमा वितरण गर्नेछन् ।