दयाहाङको मुख्य भूमिका रहने ‘मितज्यू’बाट नेपाली सिनेमामा डेब्यु गर्दै तेरिया

काठमाडौं । चलचित्र ‘घरज्वाइँ’ को निर्माण समूहले नयाँ सिनेमा ‘मितज्यू’मा अभिनेता दयाहाङ राई र तेरिया फौजा मगर अनुबन्धित भएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा अभिनेता राई र मगर अनुबन्धित भएका हुन् ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस सिनेमाको निर्माण जनक घर्ती मगर रहेका छन् ।

गत महिना पेन्टिङमार्फत् तयार पारिएको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा चिलचित्रको निर्माण टिमले बुधबार यी दुई कलाकारलाई अनुबन्ध गराएको हो ।

यसअघि यही समूहले निर्माण गरेको चलचित्र ‘घरज्वाइँ’मा पनि दयाहाङ थिए । यता, भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले यो सिनेमाबाट नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन् ।

तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् ।

अर्को वर्षको छायांकन हुने सिनेमामा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को-को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन ।

यो चलचित्रले पहाडी परिवेशमा आधारित भएर आदिवासी जनजाति समुदायमा प्रचलित मित परम्पराको कथा भन्नेछ ।

महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।  आगामी वर्ष २०८२ को चैत २७ गते प्रदर्शनमा आउने ‘मितज्यू’लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।