निश्चलले उठाए सेन्सर बोर्डका सदस्यको योग्यतामा प्रश्न

काठमाडौं । नेपाली कथानक चलचित्र ‘राजागंज’लाई सेन्सरबोर्डले पटकपटक रोकपछि त्यसको विरोधमा चलचित्रकर्मीको स्वर सुनिन थालेको छ । कलालाई नबुझ्ने मान्छे सेन्सरमा रहेको भनेर विरोध भइरहेको छ ।

निर्देशक निश्चल बस्नेतले सेन्सर बोर्डका सदस्यको योग्यतामाथि नै प्रश्न उठाएका छन् । बोर्ड सदस्य हुने योग्यता के हो भन्दै सेन्सरमा चलचित्र बुझ्ने मान्छे नभएको आरोप लगाएका छन् ।

“राजागंजलाई सेन्सरले रोकेछ । सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ?,” उनले फेसबुकमा लेखेका छन्, “डिस्केलेमर नबुझ्ने, फिल्ममा देखाएको सबैकुरा वास्तविकता हो भनेर बुझ्ने । फिक्सनको अर्थ नबुझ्ने । यस्तै हो चाहिने योग्यता ?”

उनी अगाडि लेख्छन्, “फिल्म जति नै रियालिसिटक भए पनि रियल हुँदैन । इट इज अ वर्क अफ आर्ट नबुझ्नेहरू फिल्म सेन्सर गर्न बसेका छन् । हाम्रो नेपालमा ।”

‘कुहिको आँप’ भन्ने शब्द र केही अन्तर्वार्तालाई लिएर सेन्सरले ‘राजागंज’लाई हालसम्म सेन्सर पासको सर्टिफकेट दिएको छैन । दीपक रौनियारले निर्देशन गरेको यो चलचित्र चैत १ गतेबाट रिलिज हुँदैछ ।