‘अञ्जिला’ र ‘आउट लः दफा २१९’ को अग्रिम बुकिङ खुल्ला, कुन चलचित्रले कति शो पाए ?

काठमाडौं । होलीको अवसर पारेर भोलि बिहीबारदेखि प्रदर्शनमा आउन लागेका दुई नेपाली चलचित्र ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’ को अग्रिम बुकिङ खुल्ला भएको छ ।

यी दुई चलचित्रलाई देशभरका मल्टिप्लेक्स हलरुले उच्च शो दिएका छन् । नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स, दोस्रो ठूलो चेन आईएनआई सिनेमाज, वान सिनेमाज्, बीग मुभिज, एफक्यूब जस्ता मल्टिप्लेक्सहरूले ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’ लाई राम्रो शो उपलब्ध गराएको देखिन्छ ।

‘अञ्जिला’को सोमबार काठमाडौंमा आयोजित प्रिमियरपछि चलचित्रप्रति दर्शकको उच्च उत्साह देखिएको छ । सकारात्मक प्रतिक्रियाले हल व्यवसायीलाई पनि उत्साहित बनाएको छ ।

निर्देशक मिलन चाम्सका अनुसार ‘अञ्जिला’ले बुधबार बिहानसम्म ११० भन्दा बढी शो प्राप्त गरिसकेको छ भने साँझसम्म थप शोहरू बढ्ने सम्भावना छ। “दर्शकको प्रतिक्रिया हाम्रा लागि निकै हौसला दिने खालको छ,” चाम्सले भने, “शो संख्याभन्दा पनि दर्शकको उपस्थिति र प्रतिक्रिया महत्त्वपूर्ण हुन्छ ।” मल्टिप्लेक्ससँगै सिङ्गल स्क्रिन हलहरूले पनि फिल्मलाई राम्रो शो दिएका छन् । फागु पूर्णिमाका कारण बिहीबार दिउँसोदेखि मात्र अधिकांश हल सञ्चालन हुने भएकाले शुक्रबारबाट शो संख्या थपिने अनुमान गरिएको छ।

चलचित्र ‘अञ्जिला’ नेपाली फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनसंघर्ष र सफलताको कथा हो । मुख्य भूमिकामा एञ्जिला आफैं प्रस्तुत भएकी छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको छायांकन इलाम, झापा र काठमाडौंमा गरिएको हो ।

निर्देशक चाम्सका अनुसार नेपाली स्रोत-साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले नयाँ प्रभाव पार्ने विश्वास छ । निर्माता प्रेमकुमार श्रेष्ठले चलचित्रले खेलकुदप्रति रुचि राख्नेहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

चलचित्रको नेपाल (धरान, काठमाडौं) सहित हङकङ, कोरिया, बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान जस्ता विभिन्न मुलुकमा प्रिमियर गरिएको थियो । हलमा प्रदर्शनअघि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्मले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, एक्सन जनरामा आधारित चलचित्र ‘आउट लः दफा २१९’ ले चलचित्र जाँच पास समितिबाट ‘पीजी सर्टिफिकेट’ प्राप्त गरेको छ, जसअनुसार १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् ।

चलचित्रको देशभरका हलमा बुकिङ खुलिसकेको छ भने मल्टिप्लेक्सहरूले पर्याप्त शो उपलब्ध गराएका छन् । हलमा दर्शकको राम्रो चाप रहेको निर्माण पक्षको दाबी छ ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रलाई अमित अग्रहरिले निर्माण गरेका हुन् । सिनेमामा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायत कलाकारको अभिनय रहेको छ । एक्सन प्रधान यस चलचित्रले सामाजिक मुद्दालाई समेत उठान गर्ने बताइएको छ।

नेपाल प्रदर्शनअघि नै जापान र कतारमा सेन्सर प्रक्रिया पूरा गरेको यस चलचित्रले त्यहाँ उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ । नेपालका दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त हुने निर्माण पक्षको विश्वास छ ।

फागु पूर्णिमाका कारण बिहानी शोहरू उपलब्ध नभए पनि मध्यान्हपछि दर्शकहरूले देशभरका हलमा चलचित्र हेर्न पाउनेछन् । ट्रेलरले राम्रो चर्चा कमाएकाले सिनेमाले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी, शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘राजागञ्ज’को पनि अग्रिम बुकिङ खुल्ला भएको छ । यो सिनेमाको केही हलहरुले बुकिङ खुल्ला गराएका छन् भने केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति नपाइसकेकाले कतिपय हलले शो होल्डमा राखेका छन् ।