‘अञ्जिला’ र ‘आउट लः दफा २१९’ आए प्रदर्शनमा

काठमाडौं । होलीको अवसर पारेर आजदेखि दुई नेपाली चलचित्र ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’ प्रदर्शनमा आएका छन् ।

यी दुई चलचित्रलाई देशभरका मल्टिप्लेक्स हलरुले उच्च शो दिएका छन् । नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स, दोस्रो ठूलो चेन आईएनआई सिनेमाज, वान सिनेमाज्, बीग मुभिज, एफक्यूब जस्ता मल्टिप्लेक्सहरूले ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’ लाई राम्रो शो उपलब्ध गराएका छन् ।

‘अञ्जिला’को सोमबार काठमाडौंमा आयोजित प्रिमियरपछि चलचित्रप्रति दर्शकको उच्च उत्साह देखिएको छ । यो सिनेमाले सकारात्मक प्रतिक्रिया पाएको छ ।

‘अञ्जिला’लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चलचित्र ‘अञ्जिला’ नेपाली फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनसंघर्ष र सफलताको कथा हो ।

मुख्य भूमिकामा एञ्जिला आफैं प्रस्तुत भएकी छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको छायांकन इलाम, झापा र काठमाडौंमा गरिएको हो ।

एक्सन जनरामा आधारित चलचित्र ‘आउट लः दफा २१९’ले चलचित्र जाँच पास समितिबाट ‘पीजी सर्टिफिकेट’ प्राप्त गरेको छ । जसअनुसार १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् ।

चलचित्रको देशभरका हलमा बुकिङ खुलिसकेको छ भने मल्टिप्लेक्सहरूले पर्याप्त शो उपलब्ध गराएका छन् । हलमा दर्शकको राम्रो चाप रहेको निर्माण पक्षको दाबी छ ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रलाई अमित अग्रहरिले निर्माण गरेका हुन् । सिनेमामा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायत कलाकारको अभिनय रहेको छ । एक्सन प्रधान यस चलचित्रले सामाजिक मुद्दालाई समेत उठान गर्ने बताइएको छ।

फागु पूर्णिमाका कारण बिहानी शोहरू उपलब्ध नभए पनि मध्यान्हपछि दर्शकहरूले देशभरका हलमा चलचित्र हेर्न पाउनेछन् । ट्रेलरले राम्रो चर्चा कमाएकाले सिनेमाले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।