‘परालको आगो’मा प्रकाश सपूत, सुहानाको जोडी जितु कि प्रकाश ?

काठमाडौं । चलचित्र ‘परालको आगो’मा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्धित भएका छन् । कथाकार स्व.गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’मा आधारित निर्माण हुने यस सिनेमामा सपूत प्रमुख भूमिकामा अनुबन्धित भएका हुन् ।

गायनबाट अभिनयमा आएका सपूत हाल चलचित्र क्षेत्रमा सफलताको शिखरमा छन् । डेब्यु सिनेमा ‘परदेशी २’बाट सफलता पाएका उनले ‘पूर्णबहादुरको सारङ्गी’मार्फत झन् चर्चा कमाए ।

हालै चलचित्र ‘वसन्त’ निर्देशन सकेपछि उनले ‘सोल्टिनी’ र ‘हरिबहादुरको जुत्ता’मा अभिनय गरिसकेका छन् ।

पहिले २०८२ सम्म नयाँ चलचित्र नखेल्ने घोषणा गरेका सपूत अन्ततः ‘परालको आगो’मा अनुबन्धित भएका छन् । हरिओम सिने मेकर्सले निर्माण गर्न लागेको यस सिनेमामा उनी प्रमुख दुई पात्रमध्ये एक हुनेछन् ।

लक्ष्मण सुनारले निर्देशन गर्ने ‘परालको आगो’मा यसअघि अभिनेता जितु नेपाल र अभिनेत्री सुहाना थापा अनुबन्धित भइसकेका छन् ।

यो सिनेमालाई श्रीमान्-श्रीमतीको सम्बन्ध तथा झैँझगडालाई मुख्य विषय बनाइएको छ । जसमा श्रीमान्-श्रीमती चामे र गौँथली अर्को महत्वपूर्ण पात्र जुठे दमाईको कथा प्रस्तुत गरिनेछ । चलचित्रका निर्माता सुशील पोखरेलका अनुसार यो सिनेमा कथा चामे, गौँथली र जुठे दमाईको वरिपरि घुम्ने भएकाले प्रकाश र जितुको भूमिकाबारे भने अहिले सस्पेन्स राखिएको छ ।

यसअघि चामेको भूमिकाका लागि अभिनेता खगेन्द्र लामिछानेसँग कुराकानी गरिएपनि समय व्यस्तताका कारण सपूत अनुबन्धितलाई गराइएको जानकारी प्राप्त छ ।

चलचित्रमा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा सत्य-स्वरुपराज आचार्यको संगीत रहनेछ । निर्माता पोखरेलका अनुसार सिनेमालाई २०८२ सालमा प्रदर्शन गरिनेछ ।

४५ वर्षअघि पनि निर्देशक प्रताप सुब्बाले यही नाममा चलचित्र निर्माण गरेका थिए । यसपटक लोकेसन, पटकथा तथा प्रस्तुतीकरणलाई फरक ढंगले निर्माण गरिने निर्माता पोखरेलले बताएका छन् ।