सामाजिक कथा रहेको ‘डोरी’को ट्रेलरमा हरर र थ्रिलको मिश्रण

काठमाडौँ । अरुण लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
चैत १५ गते रिलिज हुने सिनेमाको आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलर चलचित्रका शीर्ष पात्रहरू वरपर घुमेको छ । जसमा केही थ्रिल तथा हरर दृश्यहरू समेटिएका छन् ।
यसमा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू प्रमुख रूपमा उठान गरिएको छ भने पारिवारिक तथा सामाजिक व्यवधानहरू समेत ट्रेलरमा देखिन्छ ।
निर्देशक अरुण लामाले थ्रिल र हररलाई ‘दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो’ तरिकाले राखिएको बताए । उनले थपे, ‘यो कथा पूर्णतया सामाजिक हो र कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ ।”
यसअघि ‘डोरी’का पोस्टरहरू सार्वजनिक गरिएको थियो, जसले चलचित्र थ्रिलर तथा हरर श्रेणीको हुनसक्ने सङ्केत दिइएको थियो । तर, यसको गीत ‘चुच्चे ढुङ्गो’मा भने अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको थियो ।
यो चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, बिरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको पनि प्रमुख भूमिका रहेको छ ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।