१६ नेपाली स्क्रिप्ट राइटरलाई प्रशिक्षण दिँदै बलिउड स्क्रिप्ट राइटर भवानी

काठमाडौं । बलिउड स्क्रिप्ट राइटर भवानी अयरले दिने स्क्रिप्ट राइटिङ (पटकथा) लेखनको चार दिने कार्यशाला सुरु भएको छ ।
भवानीले दिने ‘गो टु टेल इट अन माउन्टेन’ शीर्षकमा नेपाली सिनेमा लेखकका लागि कथानक चलचित्रको पटकथा लेखन कार्यशाला आजदेखि सुरु भएको हो ।
आजदेखि सुरु भएको कार्यशाला चैत ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ । कार्यशालामा विभिन्न विधा र पृष्ठभूमिका १६ जना नेपाली स्क्रिप्ट राइटर सहभागी छन् ।
कार्यशालाले नेपाली पटकथा लेखकहरूलाई आफ्नो कलालाई निखार्न, आफ्नो पटकथामा भवानीबाट महत्वपूर्ण प्रतिक्रिया लिन अवसर प्रदान गर्नेछ ।
कार्यशालाले पटकथा लेखनका विभिन्न पक्षहरूलाई समेट्नेछ, जसमा कथाको मूल मर्म पत्ता लगाउन, लेखकको क्षमता पहिचान गर्न, चरित्र निर्माण गर्न सहयोग गर्नेछ । लेखकहरूले आफ्नो फिचर फिल्मको स्क्रिप्टमा प्रतिक्रिया लिने अवसर प्राप्त गर्नेछन् ।
कार्याशालाको अन्तिम दिन उनीहरूले आफ्ना पटकथाहरू नेपाली चलचित्र निर्माताहरूलाई पिच गर्नसक्ने बताइएको छ ।
कार्याशालामा सहभागिताका लागि कम्तिमा एउटा फिचर फिल्मको पटकथा लेखेका नेपाली लेखकहरूलाई खुला आह्वान गरिएको थियो । भवानीले विभिन्न पटकथा लेखन प्रयोगशालाहरूमा मेन्टरको काम गर्दै आएकी छन् ।