‘अञ्जिला’को प्रचारमा अब एन्जिला स्वयं हिँड्दै

काठमाडौं । दर्शकको साथ पाइरहेको चलचित्र ‘अञ्जिला’को प्रचारमा यो सिनेमाकी मुख्य पात्र पनि अब देखिने भएकी छन् ।
एन्जिला तुम्बाप्पो सुब्बा अर्को हप्तादेखि यो चलचित्रको प्रचारमा हिँड्ने भएकी हुन् । विदेशमा रहेकी उनी नेपाल फर्किएर चलचित्रको प्रचारमा हिँड्ने भएकी हुन् ।
एन्जिला अहिले ग्रिसमा छिन् । उनी चैत १० गते नेपाल फर्किने र सोही दिनदेखि चलचित्रको प्रचारमा निस्किने छिन् ।
दर्शक भेट्न हलमा पुग्नेदेखि मिडिया अन्तर्वातासम्ममा उनी देखिनेछिन् । फुटबल म्याच चलिरहेकाले एन्जिला अहिले ग्रिसमा फुटबल खेलिरहेकी छन् ।
यूके र नेपालमा भएका कुनै पनि प्रिमियरमा उनी सहभागी हुन सकेकी छैनन् । त्यसैले चलचित्रर्की मुख्य कलाकार बिना नै निर्माणपक्षले चलचित्रको प्रचार गरिरहेको छ ।
‘अञ्जिला’ राष्ट्रिय महिला फुटबल क्लबकी कप्तान तथा गोलरक्षक एन्जिला सुब्बोको बायोपिक हो । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।
बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ अहिले उच्च अकुपेन्सीसहित चलिरहेको छ । निर्माणपक्षले तीन दिनको ग्रसकलेक्सन पनि सार्वजनिक रहेको छ ।
निर्माताले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्टअनुसार यो चलचित्रले बिहीबार, शुक्रबार र शनिबार गरी दुई करोड ७ लाख व्यापार गरेको छ ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।